धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम सुरु भएको छ।
पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए)को संयुक्त आयोजनामा यो यात्रा सुरु भएको हो।
मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिर परिसरबाट टोलीले यात्राको शुभारम्भ गरेको छ।
६ दिने यस विशेष भ्रमणका क्रममा सहभागीहरूले पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर र यात्राको रुटमा पर्ने अन्य विभिन्न मठमन्दिरहरूको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ।
पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिइएको छ।
यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि महानगरले विशेष पहल गरिरहेको बताए ।
सञ्चारकर्मीहरूको एक टोलीलाई सम्बोधन गर्दै उनले धार्मिक क्षेत्रको भ्रमणपछि प्राप्त हुने वस्तुनिष्ठ रिपोर्टका आधारमा महानगरले नयाँ कार्ययोजना बनाउने जानकारी दिए ।
‘पर्यटन क्षेत्रका सवारी व्यवस्थापन गर्ने साथीहरू र सञ्चारकर्मीहरूको टोलीले स्थलगत भ्रमण गरी त्यहाँको वास्तविक अवस्था, यात्रुहरूले भोग्नुपरेका समस्या, आवास र खानाको व्यवस्थाबारे विस्तृत अध्ययन गर्नेछ। यसले आगामी दिनमा पर्यटकका लागि थप सहज वातावरण बनाउन मद्दत पुग्नेछ’ उनले भने ।
संघका अध्यक्ष रविप्रसाद आचार्यले धार्मिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण फलदायी हुने बताए ।
