सुरक्षा बेस बनाउन लाम्पाटा पुग्यो सशस्त्र प्रहरीको टोली

बाजुरा र हुम्लाको सीमा विवाद भएको स्थानमा सशस्त्र प्रहरीको टोली पुगेको छ ।

सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जेठ २७ गते लाम्पाटाका लागि प्रस्थान गरेको टोली शनिबार उक्त क्षेत्रमा पुगेको हो। टोली पुगेसँगै त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी सुरु गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीलाई आवश्यक निर्देशन, समन्वय तथा अनुगमन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै गरिने जनाइएको छ। आवश्यकता अनुसार थप समन्वय र सहयोग पनि प्रधान कार्यालयबाट उपलब्ध गराइने बताइएको छ।

पछिल्ला केही दिनयता उक्त क्षेत्रमा विभिन्न विषयलाई लिएर विवाद उत्पन्न भएपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी परिचालन गरिएको हो।

यसअघि नै नेपाल प्रहरीको टोली पनि लाम्पाटा क्षेत्रमा पुगिसकेको छ। सुरक्षा निकायहरूले स्थानीय अवस्थाको निगरानी गर्दै शान्ति सुरक्षा कायम राख्न आवश्यक कदम चालिरहेका छन्।

Exit mobile version