पर्यटन राजधानी पोखरा, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी भएको छ।
तीनै गन्तव्यलाई जोड्दै संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तार गर्ने लक्ष्य राखिएको छ।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित ‘पोखरा भ्रमण वर्ष’ को संयोजनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका छन् ।
सहकार्यका मुख्य बुँदामा वार्षिक नीति, योजना र बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा समावेश गर्ने,सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो तीनै स्थानीय तहले गर्ने, प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला तथा ट्राभल मार्ट’ आयोजना गर्ने, आवश्यकता अनुसार ‘बीटूबी’ र ‘जीटूजी’ बैठक सञ्चालन गर्ने, संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने, एकीकृत पर्यटन प्याकेज र डिजिटल प्रचार गर्ने लगायत उल्लेख छ ।
पोखराका नगर प्रमुख धनराज आचार्यका अनुसार पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ ।
तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिने छ। साथै प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना गरिने योजना छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारीले उक्त सहकार्यलाई दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण कदम भएको बताए । उनका अनुसार ‘सिल्भर ट्रयाङ्गल’ लाई चिनाउन संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गरिनेछ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले तीनवटै गन्तव्यलाई जोड्ने गरी आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन्।







