पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
विश्वव्यापी जलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ ।
संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन गर्न महानगरले ठूलो वैदेशिक साझेदारी भित्र्याएको जानकारी दिए ।
‘दिगो सहरी यातायात व्यवस्थापन र विद्युतीय सवारीसाधन (इ–मोबिलिटी) परियोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) र ग्रीन क्लाइमेट फन्डको साझेदारीमा नेपाललाई १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण प्राप्त भएको छ । सो रकममध्ये पोखरामा मात्रै ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) लगानी हुनेछ,’ उनले भने ।
पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै एडीबीले यस परियोजनालाई प्राथमिकतामा राखेको उनले बताए । उक्त परियोजना अन्तर्गत विद्युतीय गाडीको प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायातको डिजिटलाइजेसन र व्यवस्थित बस स्टप लगायतका पूर्वाधार निर्माण गरिने योजना महानगरको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्मार्ट र सस्टेनेबल मोबिलिटीका लागि नारामा मात्र सीमित नभई सरकारले आजैदेखि ठोस तयारी थाल्नुपर्ने बताए ।
‘सरकारले ल्याएका नीतिहरूमा सहकार्य गर्न निजी क्षेत्र तयार छ, लगानीका लागि पनि तयार छ,’ उनले भने, ‘त्यसका लागि सरकारले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्नुपर्छ र नीतिगत अप्ठ्याराहरू हटाउनुपर्छ ।’ यस्ता परियोजनाहरूमा दीर्घकालीन नीति आवश्यक रहेको उनले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले यातायात व्यवसायीहरू परम्परागत इन्धनबाट विद्युतीय तथा दिगो प्रणालीतर्फ रूपान्तरण हुन र लगानी थप्न तयार रहेको स्पष्ट पारे । तर, यसका लागि सरकारले धरातलीय चुनौती र लगानीको सुरक्षालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘व्यवसायीहरू सार्वजनिक यातायातमा ठूलो लगानी खन्याउन तयार छन्, तर त्यसका लागि सरकारले आवश्यक पूर्वाधार र चार्जिङ नेटवर्क बनाइदिनुपर्छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रमा विद्युतीय बस वा शटल सेवा सञ्चालन गर्न रुट पर्मिट, चार्जिङ उपलब्धता र लगानी सुरक्षा सबैभन्दा ठूला चुनौती हुन् । सार्वजनिक यातायातमा जीपीएस र सीसीटीभी जडान गरी डिजिटल टिकटिङ र सेवाको गुणस्तर सुधार्न व्यवसायीहरू सकारात्मक छन् ।’
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का कार्यकारी निर्देशक गोविन्द भट्टराईले विश्वव्यापी रूपमा अटोमोबाइल उद्योग विद्युतीकरणतर्फ अघि बढे पनि नेपालको सडक पूर्वाधार र नीतिहरू अझै कमजोर रहेको औंल्याए ।
‘स्मार्ट मोबिलिटी र न्यू इनर्जी भेइकल एक–अर्काका परिपूरक हुन् । नेपालमा चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन र प्राविधिक जनशक्तिको ठूलो अभाव छ,’ उनले भने, ‘पोखरा आउने पर्यटकले कम कार्बन (शून्य–उत्सर्जन) यातायात प्रयोग गर्ने वातावरण बनाउने हो भने नवीकरणीय ऊर्जासँग जोडिएको चार्जिङ प्रणाली र लामो दूरीका पर्यटकीय रुटहरूमा बलियो चार्जिङ नेटवर्क बनाउन आजैका दिनदेखि स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै निजी क्षेत्रले ठोस कदम चाल्नुपर्छ ।’
नेपालमा ईभीको आकर्षण बढेपनि त्यो निजी कारमा मात्र सीमित भएको र सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेको भट्टराईले बताए । स्मार्ट मोबिलिटीको कुरा गरेपनि धरातलमा धेरै समस्या र चुनौतीहरू सार्वजनिक यातायात क्षेत्रले भोगिरहेको उनले उल्लेख गरे ।
पर्यटकीय नगरी पोखरालाई दक्षिण एसियाकै हरित यातायात गन्तव्यका रूपमा ब्रान्डिङ गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा ई–मोबिलिटीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव वक्ताहरूको छ ।
संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा पोखराका सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने नीति ल्याएको छ । उक्त नीति सकारात्मक रहेपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरुले बताए ।
ब्याट्री व्यवस्थापन, रिसेल भ्यालु, सुरक्षित ईभी, गुणस्तर र दक्ष मेकानिक्स तथा चालक बिना यो नीति तत्काल कार्यान्वयन हुन कठिन रहेको बताउँदै यसमा सरकार गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ । सरकारले पूर्वाधार विकास र नीतिगत समस्या समाधान गर्दै निजी क्षेत्रका लागि तत्काल लगानीमैत्री वातावरण तय गर्नुपर्नेमा उनीहरूले जोड दिए ।
संवादको सहजीकरण आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेलले गरेका थिए ।
संवादमा सरकार, निजी क्षेत्र, यातायात व्यवसायी, अटोमोबाइल क्षेत्र, विद्यार्थी, इन्जिनियर लगायत क्षेत्रका नेतृत्वकर्ताहरुको सहभागिता रहेको पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।







