६ महिनाभित्र १७ करोड तिर्ने शर्तमा आज छुट्दै शिवबहादुर उर्फ ‘महेन्द्र भोटे’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका ‘महेन्द्र भोटे’ भनेर चिनिने शिवबहादुर गुरुङ आज छुट्ने प्रक्रियामा रहेका छन् ।

शुक्रबार कास्की जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीका छाड्ने आदेश दिएपनि धरौटी रकम बुझाउन र कानूनी प्रक्रिया पुरा गर्न नभ्याएका कारण महेन्द्र आज छुट्ने भएका छन् ।

अदालतका स्रेस्तेदार राजन खनालका अनुसार उनलाई १७ करोड रुपैयाँ बिगो रकम तिर्नुपर्ने शर्तमा छाड्ने इजलाशको आदेश छ ।

‘५ लाख रुपैयाँ धरौटी राखेर आज छुट्ने छन् ‘स्रेस्तेदार खनालले भने ‘महेन्द्रलाई १७ करोड रुपैयाँ ६ महिनाभित्र तिर्ने समयसीमा दिइएको छ ।’

उक्त म्यादभित्र बिगो रकम बुझाउन नसके कानूनतः पहिलेकै प्रक्रिया अनुरुप सजाय हुनसक्ने खनाल बताउँछन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

महेन्द्र नेकपा एमाले निकट युवा संघका नेता हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो ।

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

फाइल तस्बिर

Scroll to Top