एमालेका पूर्वसांसद एवं व्यवसायी इच्छाराजलाई ३ वर्ष कैद

-


     नयाँ लिपि    
     माघ २३ गते २०८० मा प्रकाशित


पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय निर्धारण भएको छ । तामाङ एमालेबाट संविधानसभा सदस्य बनेका थिए ।

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो बमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।

विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो । उक्त सजाय अनुसार कैद र बिगोका लागि आइतबार पेसी तोकिएको हो। विशेषले ३ वर्षभन्दा माथि सजाय गर्नुपर्ने भएकाले आज बहस हुँदै सजाय सुनाएको हो ।

उनकी श्रीमती श्रृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद हुने र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । अर्का प्रतिवादी केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला सुनाएको छ ।

प्रतिवादी इच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला विशेषले सुनाएको छ । प्रतिवादिहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने फैसलामा भनिएको छ।

विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी तामाङ सहित उनको परिवारका केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको थियो ।

तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुनः अर्का पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार आजका लागि पेशी तोकिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो।

विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ।

तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।