विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव जारी

-


     नयाँ लिपि    
     कार्तिक २ गते २०८० मा प्रकाशित



२ कार्तिक, पोखरा। बडादसैं अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा आयोजित नवदुर्गा महोत्सव जारी छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा घटस्थापनादेखि सुरु भएको महोत्सव नवमीसम्म सञ्चालन हुनेछ ।
महोत्सव अवसरमा नवदुर्गाभर बिहान संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ र दिउँसो नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन भइरहेको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।
हरेक बिहान ९ देखि १२ बजेसम्म ज्ञानमहायज्ञ र दिउँसो २ देखि ४ बजेसम्म कार्तिक २ र ३ गते दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, भाद्र ४ र ५ गते कृष्णानुरागी आचार्य पशुपति पौडेलले कथा वाचन गर्ने छन् ।
आइतबार महोत्सव सुरु हुनुअघि विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा निकालिएको थियो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको हो
महोत्सव सफल पार्न समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । साढे २ सय वर्ष पुरानो अनुमान गरिएको विन्ध्यवासिनी मन्दिर पोखराको प्रमुख शक्तिपीठ हो । यो मन्दिरको संरक्षण र विकास गर्ने उद्देश्यले २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति स्थापना भएको हो । समितिकै पहलमा विभिन्न भौतिक संरचना समेत निर्माण भएका छन् । तर कोरोनापछि आर्थिक मन्दीका कारण मन्दिरमा भेटी संकलन आधाजसोले घटेको समितिले जनाएको छ । विगतमा दैनिक एक लाखसम्म भेटी संकलन हुने गरेकोमा अचेल ५० हजार हाराहारीमा मात्र भेटी संकलन हुने समितिका सचिव तीर्थ श्रेष्ठले बताए । मन्दिरका १४ पुजारीसहित ६५ कर्मचारीको तलब र सबै व्यवस्थापनमा गरी २३ लाख जति मासिक खर्च हुने गरेको समितिले जनाएको छ ।