स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्राकृतिक चिकित्सा, योग र अकुपन्चरलगायत वैकल्पिक उपचार पद्धतिका चिकित्सकलाई पनि नेपाल आयुर्वेद परिषद् (एनएएमसी) मा दर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् ।
वैकल्पिक चिकित्सकहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
हाल कतिपय योग्य वैकल्पिक चिकित्सक एनएएमसीमा दर्ता हुन नमिल्ने अवस्था छ । जसका कारण उनीहरू स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर काम गर्न बाध्य छन् । ती चिकित्सकलाई कुनै न कुनै रूपले सम्बोधन गर्नैपर्ने मन्त्री मेहताले बताएकी छिन् ।
मन्त्रीको सचिवालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्को नियमावलीमा ‘आयुर्वेदिक चिकित्सा वा सो सरहको योग्यता’ भएका व्यक्तिलाई दर्ता गर्न सकिने प्रावधान रहेको तर्क गरेको छ । सोही प्रावधानलाई आधार मानेर वैकल्पिक चिकित्साका योग्य चिकित्सकलाई दर्ता गरिने सचिवालयको भनाइ छ ।
तर, आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५ का प्रावधानअनुसार भने मन्त्रीको मौखिक निर्देशनले मात्र यो प्रक्रिया सहज देखिँदैन । उक्त ऐनको परिच्छेद ४ को खण्ड ४.२ मा चिकित्सकको योग्यतासम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।
ऐनको उपखण्ड ४.२.१.२ मा ‘अन्य चिकित्सा प्रणालीमा स्नातक उपाधि प्राप्त गरेपश्चात आयुर्वेद विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने’ सर्त राखिएको छ । यसले गर्दा ऐन संशोधन नगरी वा कानुनी जटिलता नफुकुवाई वैकल्पिक चिकित्सकलाई दर्ता गर्न कठिन हुने देखिएको छ ।
