गण्डकीमा टेक पाइलाले थप्यो ‘एआई’ र ‘साइबर सुरक्षा’ कोर्ष

‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।

पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थी लक्षित कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा र डेटा विज्ञान सम्बन्धी पाठ्यक्रम सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन चेम्बर अफ कमर्सका तत्कालिन अध्यक्ष राजेन्द्र मल्लले गरे ।

सो अवसरमा बोल्दै उनले गण्डकी प्रदेशमा पनि भित्राइएको तीन वटा पाठ्यक्रमले प्रविधिको युगतर्फ उन्मुख र सशक्तिकरण गर्न नयाँ पुस्तालाई महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

उनले टेकपाइलालाई सो पाठ्यक्रम सहर केन्द्रीत नभएर गाउँगाउँका विद्यायमा पनि पुर्याउनु पर्नेमा जोड दिए ।

‘अहिलेको समय प्रविधिको छ । औपचारिक शिक्षासँगै समयको माग अनुसारको शिक्षा दिलाउने सरकारको कर्तव्य नै हो तर हामी सधैं सरकारसँग मात्र भर परेर हुँदैन । यहाँहरुको यो अभियान एकदमै राम्रो छ त्यसैले गाउँकुनामा पनि पुर्याउनुपर्छ,’ उनले भने ।

यस्तै ​टेकपाइलाको यो अभियानलाई देशव्यापी रूपमा प्रभावकारी र व्यापक बनाउन सम्पूर्ण टिम क्रियाशील टेकपाइलाका एसोसियट डाइरेक्टर चिरन्जिवी अधिकारीले बताए ।

उनले अबको युग एआई र प्रविधिको भएकाले हरेक घरघरमा प्रविधिमैत्री जनशक्ति हुनुपर्ने उल्लेख गरे । यसले हाम्रो घरघरमा राम्रो जनशक्ति उत्पादन गर्न सघाउ पुर्याएछ । घरमा गेट बलियो बनाएजस्तो कुकुर पालेजस्तो अब प्रविधिबाट पनि सुरक्षित हुनुपर्छ, उनले भने ‘त्यसैले यो कोर्स अबको पुस्ताको लागि अपरिहार्य छ ।’

यस्तै टेकपाइला गण्डकी प्रदेशका निर्देशक किसान सुनारले डिजी स्कुलमार्फत यसअघि पनि कम्प्युटरसम्बन्धि कोर्स पोखरामा भित्राएको स्मरण गराउँदै शैक्षिक क्षेत्रमा योगदान दिने उद्देश्यसहित नयाँ र समय सान्दर्भिक कोर्सहरु भित्राएको स्पष्ट पारे ।

उनका अनुसार सफ्टवारिका कलेजको अनुसन्धान र विकास (आर एण्ड डी) टोलीद्वारा विकसित ‘टेकसेन्स प्रोग्राम’को औपचारिक परिचय गराइएको थियो ।

पूर्ण रूपमा निस्शुल्क र अनलाइन माध्यमबाट सञ्चालन हुने यस कार्यक्रमले डिजिटल साक्षरता र आधुनिक प्रविधिमा युवाहरूको पहुँच बढाउने लक्ष्य राखेको छ ।

टेकपाइला कार्यक्रममा अध्ययन गरेका प्रतिभाशाली विद्यार्थीहरूलाई सफ्टवारिका कलेज र सनवे कलेजमा उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने टेकपाइला गण्डकीका निर्देशक सुनारले बताए ।

सो कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका प्राचार्य र निर्देशकहरू, इक्यानका पदाधिकारी तथा सदस्यहरु तथा शैक्षिक क्षेत्रमा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Exit mobile version