क्यान्सरपीडितलाई सुखद खबरः चमत्कारिक ‘एमिभान्टाम्याब’ले बचाउनेछ जीवन

क्यान्सरको उपचारमा एउटा नयाँ सुईले ‘अभूतपूर्व’ नतिजा देखाएको छ। जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको ‘एमिभान्टाम्याब’ नामक सुईको ११ वटा देशमा गरिएको क्लिनिकल परीक्षणका क्रममा यस्तो उत्साहजनक नतिजा प्राप्त भएको हो।

हालै इन्डिपेन्डेन्ट डट को यूकेले प्रकाशन गरेको समाचार अनुसार यो परीक्षण विशेषगरी ती बिरामीहरूमा गरिएको थियो जसको क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको थियो वा अन्य सबै प्रकारका उपचारहरू असफल भइसकेका थिए।

टाउको र घाँटीको क्यान्सर भएका १०२ जना बिरामीहरूमा गरिएको यस परीक्षणमा एक तिहाइभन्दा बढी सहभागीहरूको ट्युमर (गिर्खा) खुम्चिएको पाइएको छ।

अझ महत्वपूर्ण कुरा त के छ भने, १५ जना बिरामीहरूको शरीरबाट क्यान्सरको ट्युमर पूर्ण रूपमा निको भएको प्रतिवेदनले देखाएको छ।

विज्ञहरूका अनुसार यो औषधिले ट्युमर बढाउन मद्दत गर्ने प्रोटिनलाई लक्षित गर्छ। यसले क्यान्सर कोषहरूले उपचारका विरुद्ध खडा गर्ने अवरोधलाई रोक्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाएर क्यान्सरसँग लड्न मद्दत पुर्‍याउँछ।

सामान्यतया निको हुने सम्भावना कम भएका र खराब स्वास्थ्य अवस्था भएका बिरामीहरू यो उपचार सुरु गरेपछि औसत १२.५ महिना थप जीवित रहेको पाइएको छ।

परीक्षणमा सहभागी कार्ल वाल्शले आफ्नो स्वास्थ्यमा देखिएको सुधारप्रति निकै सन्तुष्टि व्यक्त गरेका छन्।

यो ऐतिहासिक खोजलाई शिकागोमा हुन लागेको ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी’को वार्षिक सम्मेलनमा प्रस्तुत गरिनेछ।

हाल यो औषधिको परीक्षण फोक्सो, आन्द्रा, मस्तिष्क र पेटको क्यान्सरसहित अन्य ६० वटा विभिन्न क्लिनिकल परीक्षणहरूमा भइरहेको छ।

यस प्रविधिले भविष्यमा क्यान्सर उपचारलाई नयाँ उचाइमा पुर्‍याउने र धेरैको ज्यान जोगाउने विश्वास वैज्ञानिकहरूले लिएका छन्।

Exit mobile version