विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ स्वरूपबारे फैलाइएका भ्रमबाट सचेत रहन सबैलाई आग्रह गरेकी छन्।
‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ: कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नारासहित जारी सन्देशमा मन्त्री मेहताले पछिल्लो समय बजारमा परम्परागत चुरोट, खैनी र गुट्खासँगै भेप (ई–सिगरेट) तथा निकोटिन पाउचजस्ता उत्पादनहरू आकर्षक रूपमा प्रस्तुत भइरहेको उल्लेख गरेकी छन्।
उनले यस्ता उत्पादनलाई ‘कम हानिकारक’ वा ‘धुँवारहित’ भन्दै प्रचार गरिए पनि त्यसबाट सिर्जना हुने निकोटिनको लत र स्वास्थ्य जोखिम गम्भीर नै रहने स्पष्ट पारेकी छन्।
सन्देशअनुसार नेपालमा करिब २९ प्रतिशत जनसंख्याले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्।
सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष झण्डै ३९ हजार जनाको मृत्यु हुने गरेको उल्लेख गर्दै उनले आकर्षक विज्ञापन र भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गरेकी छन्।
मन्त्री मेहताले चुरोट, हुक्का र भेपमा निकोटिनको मात्रा उच्च हुने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताएकी छन्।
साथै, सुर्तीजन्य पदार्थको लत त्याग्न सुरुवाती चरणमा कठिनाइ भए पनि आत्मविश्वास, परिवारको सहयोग र उचित परामर्शबाट त्यसलाई छोड्न सकिने उल्लेख गरेकी छन्।
सुर्तीजन्य पदार्थ त्याग्न चाहने व्यक्तिहरूले सरकारले सञ्चालन गरेको टोल–फ्री नम्बर ११३२ मा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने जानकारी पनि सन्देशमा दिइएको छ।
मन्त्री मेहताले ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ भ्रमबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ’ भन्दै स्वस्थ जीवनशैली अपनाउन सबैलाई आह्वान गरेकी छन्।
