उता मेयर चाइना पुगे, यता लिटिल स्टेपमा डोजर रोकियो

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मित्रराष्ट्र चीन पुगेका छन् । उनी ग्लोबल मेयर डाइलगमा भाग लिन तीन दिनकालागि त्यहाँ पुगेका हुन् ।

मेयर जसै चीन पुगे, यता लिटिल स्टेप स्कुलले मिचेको फिर्के खोलाको जमिनमा डोजर पनि रोकिएकोे छ ।

यसअघि त्यहाँ निर्मित संरचनामा डोजर लगाउने भन्दै स्कुलले बिभिन्न बहानाबाजी गरेर अदालत पुगेको भन्दै मेयर आक्रोशित भएका थिए ।

बिहीबार जनप्रतिनिधिसहित पुगेर त्यहाँ शुक्रबार डोजर लगाउने जानकारी दिइएपनि आज त्यहाँ डोजर नलगाई सोपाल तमु समाजको गेट भत्काउन थालिएको छ ।

‘खोला ,खोला नै हो, खोला नै रहने छ। कुनै कन्फ्युजन छैन’ भन्ने अभिव्यक्ति दिएका मेयर आचार्य चीन गएपछि उपमेयर मञ्जु गुरुङको निर्देशनमा डोजर नपठाइएको अनुमान गरिएको छ ।

उपमेयर भने नेकपा एमाले, कास्कीको अभिमुखीकरण कार्यक्रममा व्यस्त छिन् । यस विषयमा प्रतिक्रिया माग्दा उपमेयरले ५ दिनको समयसीमा थपिएको प्रशासनिकपत्र प्राप्त भएको जानकारी दिइन् ।

सोही अनुसार वडा ८ का अध्यक्ष रुद्रनाथ बरालले जेठ १७ गतेसम्म संरचना र सामान हटाउन समय दिइएको पत्र बनाइदिएका छन् ।

बिहीबार स्वयं वडाध्यक्ष बराल स्कुलुका प्रिन्सिपलसँग चर्काचर्की गर्दै शुक्रबार बिहान ११ बजे डोजर लिएर भत्काउन आउने बताएका थिए । तर उनले एकाएक १७ गतेसम्म समय दिइएको पत्र बनाएर सम्पर्कविहीन भएका छन् ।

यता डोजर रोकिएपछि मेयर आचार्यले सामाजिक सञ्जालमार्फत ‘अभियान जारी छ। जारी रहन्छ’ भनेका छन् ।

Exit mobile version