४ दिनदेखि फोहोर फाल्न अवरोध, पोखरा दूर्गन्धित !

पोखरा महानगरपालिकाले आफ्नो प्रतिबद्धता पुरा नगरेको भन्दै वडा ३२ लामेआहालवासीले फोहोर ‘डम्प’ गर्न नदिएपछि अहिले पोखराको नगर क्षेत्रमा जताजतै फोहोर थुप्रिएको छ ।

वडा नं. ३२ स्थित लामेआहाललाई अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । तर ४ दिनयता त्यहाँ फोहोर विसर्जन गर्न नदिइएपछि पोखराको बजार क्षेत्रमा हरिबिजोग देखिएको छ ।

अझ, बिहीबारको ठूलो वर्षाले सडक किनारमा राखिएको फोहोर बगाएर छरपस्ट पारिदिएपछि दूर्गन्ध ह्वात्तै बढेको छ । कथंकदाचित् घाम लागिदिने हो भने कुनैपनि बेला महामारी फैलन सक्ने सम्भावना बढेको छ ।

अहिले नगरवासीले पोखराका मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई फोहोर कहिले उठ्छ ? भन्दै तारान्तार फोन गरिरहेका छन् । ‘आजभोली मै सहमति हुने र फोहोर उठ्ने’ उनीहरुको रेडिमेड जवाफ छ ।

प्रशासकीय अधिकृत अर्यालले भनेका छन् ‘पोखरामा सँधै यस्तै भइरहेछ, सबै जिम्मेवार हुनुपर्ने हो, हामी सहमति जुटाउन प्रयासररत छौं ।’

महानगरमा हाल दैनिक २ सय टन फोहोर निस्कने पछिल्लो तथ्यांक छ । पोखरा १४ को बाच्छीबुडुवामा फालिँदै आइएको फोहोर त्यसपश्चता् लामेआहालमा लैजान थालिएको हो ।

हालसम्म लामेआहालवासीले तेस्रो पटक फोहोर फाल्न अवरोध गरेका हुन् । तर यसको दोष आफुहरुलाई नदिन वडाबासीको आग्रह छ ।

उनीहरु भन्छन्, ‘खोई मेयरले सम्झौता पुरा गरेको ?, खोई जिम्मेवार भएको ?’

Exit mobile version