अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आगामी जेठ २० गते ‘छैटौं अन्नपूर्ण म्याराथन-२०८३’ आयोजना गर्ने भएको छ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ अन्नपूर्ण आधारशिविर पदयात्रा मार्गको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुकमा पत्रकार सम्मेलन गर्दै समितिले म्याराथनको तयारीबारे जानकारी दिएको छ।
समितिका अनुसार म्याराथन अन्नपूर्ण आधारशिविर (४१३० मिटर)बाट आरम्भ भई माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तवलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किमोङखोला र उरी हुँदै घान्द्रुकको श्री मेश्रम वराह माध्यमिक विद्यालयको खेल मैदानसम्म पुग्ने छ। यो म्याराथन रुटको कुल दुरी ४२.१९५ किलोमिटर रहेको छ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को सफल आरोहण गरेको ७६ वर्ष पुगेको उपलक्ष्यमा यो कार्यक्रम आयोजना हुन लागेको हो।
८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा यो पहिलो कीर्तिमानी आरोहण भएको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’कारुपमा मनाउने गरिन्छ। सोही दिनको सम्झनामा हुन लागेको म्याराथनको ऐतिहासिक गरिमा रहेको समितिले जनाएको छ।
म्याराथनको सम्पूर्ण प्राविधिक काम हिमालयन एक्सट्रीले गर्ने छ। प्रतियोगितामा महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ। जसमा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ३५ हजार रुपैयाँ नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र प्राप्त गर्ने छन्।
स्वदेशी तथा विदेशी धावकहरुले सहभागिताका लागि ७ हजार रुपैयाँ दर्ता शुल्क तिर्नु पर्ने छ। धावकहरुले विसं २०८३ जेठ १५ गतेसम्म नाम दर्ता गराउन सक्ने छन्।
हालसम्म १३ विदेशीसहित ४० जना धावकले नाम दर्ता गराइसकेको समितिले जनाएको छ।
यसपटक अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटाले पनि म्याराथनमा भाग लिने निश्चित भएको छ। म्याराथनका अन्य आकर्षणका रुपमा ‘अन्नपूर्ण पत्रकारिता पुरस्कार-२०८३’ वितरण र विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने छन्।
यो महोत्सव सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम संकलनका लागि अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), अन्नपूर्ण काठमाडौं समाज नेपाल, गण्डकी प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद् र पोखरा महानगरपालिकाले सहयोग गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, लान्द्रुक मोदी हाइड्रो इलेक्ट्रिक प्रोजेक्टलगायत संस्थाहरुबाट सहयोग प्राप्त हुने समितिले उल्लेख गरेको छ।
म्याराथन सफलतापूर्वक सम्पन्न गर्नका लागि ५०१ सदस्यीय मूल व्यवस्थापन समिति र १३ वटा उपसमितिहरु गठन गरिएको छ। समितिका अध्यक्ष ललित गुरुङले हालसम्म ९० प्रतिशत तयारी पूरा भइसकेको बताए।







