बागलुङ: बागलुङ जिल्ला अदालतबाट जेल सजाय सुनाइएका र कास्की कारागारबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले चोरीको नयाँ अभियोगमा पक्राउ गरेको छ ।
जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका सुरेश बोहोरालाई मोबाइल चोरीको आरोपमा पुनः पक्राउ गरिएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीय मिठु किसान भनिने सुरेश बोहोरालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनी यसअघि नै चोरी मुद्दामा दोषी ठहर भई कारागार कार्यालय कास्कीमा थुनामा रहेका थिए ।
बागलुङ जिल्ला अदालतको जेठ २ गतेको आदेशले बोहोरालाई चोरी मुद्दामा ३ वर्ष १ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
सोही फैसला अनुसार जेल सजाय भोगिरहेका उनी जेनजी’ आन्दोलनको क्रममा कारागारबाट भागेर फरार भएका थिए ।
फरार रहेकै अवस्थामा बोहोराले जेठ १ गते दिउँसो बागलुङ नगरपालिका वडा नम्बर २ शिवधाराचोकस्थित खड्ग बहादुर खत्रीको पसलबाट मोबाइल चोरी गरेको प्रहरीले जनाएको छ । उनले सामसुङ कम्पनीको मोबाइल चोरी गरी भागेको कसूरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार पक्राउ परेका बोहोरालाई बागलुङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।







