पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानको अग्रभागमा रहेका ५१ वटा व्यावसायिक सटरहरू हटाइएको छ ।
पृथ्वी राजमार्गसँग जोडिएको स्थानमा टिनका टहरा बनाई व्यवसाय संचालन गरिरहेका व्यवसायीहरूले पोखरा महानगरपालिकाको रोहबरमा विद्यालयसँग समन्वय गरी ती टहराहरू हटाएका हुन् ।
जेठ ४ गतेसम्मको समयावधिमा आफ्ना सामानहरू सुरक्षित स्थानान्तरण गरी खाली भएका संरचनाहरू मंगलबार महानगरपालिकाले जेसीबी प्रयोग गरी हटाएको छ ।
त्यस स्थानमा संचालनमा रहेका ५१ वटा व्यावसायिक सटरहरू व्यवसायीहरू आफैले महानगरपालिका र विद्यालयको अनुरोधमा छोड्न तयार भएका हुन् ।
सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गका रूपमा रहेको अमरसिंह क्षेत्र ती टहराहरूका कारण अस्वाभाविक देखिएको थियो ।
ती टहराहरू हटाएर व्यवसायीहरूले महानगरपालिकाको सहरी सौन्दर्यीकरणको अभियानमा साथ दिएको भन्दै उनीहरूलाई नगर प्रमुख धनराज आचार्यले आभार समेत व्यक्त गरे ।
लामो समयदेखि व्यवसाय संचालन गर्दै आइरहेका व्यवसायीहरूलाई पुनर्स्थापना गर्ने सम्बन्धमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिने उनले बताए ।







