नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ।
काउन्सिलले दुई चरणमा ३६ जना गैरआवसीय चिकित्सकको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो।
तर उक्त निर्णयको चर्को विरोध भएपछि वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरूको नाम तत्कालका लागि दर्ता किताबमै कायम राख्ने निर्णय गरेको हो।
यसअघि काउन्सिलले ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०’, ‘नियमावली २०२४’ तथा ‘नेपाल नागरिकता ऐन २०६३’ अनुसार नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना चिकित्सकको नाम दर्ता खारेज गर्ने निर्णय गरेको थियो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब विश्वभरका गैरआवसीय नेपाली चिकित्सकलाई पुनः दर्ताका लागि आह्वान गरिने भएको छ।







