स्वास्थ्यमन्त्री र विश्व बैंकका निर्देशकबीच बीमा सुदृढीकरणबारे छलफल

स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहता र विश्व बैंकका निर्देशक डेभिड सिसलेनबीच मन्त्रालयमा महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा मुख्यतः स्वास्थ्य बीमाको सुदृढीकरण, डिजिटल प्रविधिको उच्चतम प्रयोग, दक्ष जनशक्ति व्यवस्थापन, जलवायु-प्रतिरोधी पूर्वाधार निर्माण र अस्पतालहरूमा खानेपानी तथा सरसफाइलगायतका विषयमा सघन छलफल भएको बताइएको छ ।

विश्व बैंकका तर्फबाट सरकारको १०० बुँदे मार्गचित्र र प्राथमिकताप्राप्त क्षेत्रहरूमा निरन्तर साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उक्त अवसरमा मन्त्री मेहताले नेपालको स्वास्थ्य रणनीतिक योजना र गुणस्तरीय स्वास्थ्य प्रणाली निर्माणमा बैंकले पुर्‍याएको वित्तीय तथा प्राविधिक सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

साथै, आगामी दिनमा थप सहकार्य गर्न नेपाल सरकार र स्वास्थ्य मन्त्रालय पूर्णरूपमा तयार रहेको धारणा व्यक्त गरिएको छ ।

Scroll to Top