कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित श्री रामशरण आधारभूत विद्यालयका एक शिक्षकले विद्यार्थीलाई पानीको बाछिटाबाट जोगाउन गरेको मानवीय कार्यको शिक्षामन्त्री सस्मित पोखरेलले प्रशंसा गरे ।
जुडपनियाँमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई बेन्चको सहायताले ओत दिँदै गरेको शिक्षक शम्भु बिकको भिडियो सार्वजनिक भएपछि मन्त्रीले उनलाई धन्यवाद दिएका हुन् ।
स्वयंसेवक शिक्षक बिकले मंगलबार सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गरेका थिए । जस्तापाताले छाइएको दुई कोठे भवनको छानाको केही भागबाट पानी चुहिँदा र भेन्टिलेसनका कारण पानीको बाछिटा भित्र पस्दा विद्यार्थी भिज्ने अवस्था सिर्जना भएको थियो ।
सोही क्रममा शिक्षकले विद्यार्थीलाई जोगाउन गरेको प्रयासको भिडियो बाहिरिएको हो । ‘हावाहुरीका कारण पानीको बाछिटाले भिजेका विद्यार्थीलाई शिक्षकले ओत दिँदै गरेको कारुणिक दृश्यले मन बेचैन बनाएको छ’, शिक्षामन्त्री पोखरेलले भने ।
उक्त घटना सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका इकाई प्रमुखसहितको टोलीले विद्यालयको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा जस्तापाताले छाइएको दुई कोठे ब्लकमा भेन्टिलेसनका कारण पानीको बाछिटा भित्र पस्ने समस्या रहेको पाइएको छ । विद्यालयको नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायबाट पहल भइरहेको जानकारी समेत प्राप्त भएको मन्त्रीले बताए ।
शिक्षकको मानवीय कार्यप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री पोखरेलले प्राकृतिक विपद्बाट बच्न सतर्कता अपनाउन समेत सबैमा आग्रह गरे ।
‘मनसुनपूर्वको अवस्थामा देशभर भइरहेका हावाहुरी, चट्याङसहितको वर्षालगायत प्राकृतिक विपद्बाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु’, उनले भने ।







