बाँके: गत भदौ २३ गते जेन-जेड आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ ।
सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो ।
त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गरिन् । सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नगरप्रमुख विष्टले भने, ‘सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उहाँहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’
नगरप्रमुख विष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उहाँहरूको स्मृतिलाई सदैव जीवित राखिने बताए।
रासस







