१३ वर्षअघि जेलबाट फरार ‘जकज’का प्रतिवादी हेम पोखराबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गर्न बाँकी रहेकै अवस्थामा १३ वर्षअघि कारागारबाट फरार भएका प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मादी गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझपाटन बस्ने ३२ वर्षीय हेम कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङ विसं २०७० माघ १२ गते कारागार कार्यालय कास्कीबाट भागेका थिए । उनी थुनामा रहेकै समयमा कारागारबाट भागेर फरार रहेको प्रहरीले जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले विसं २०८१ वैशाख १४ गते पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित ‘दुई कुलाको मुहान’ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङले जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाइएको जानकारी सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले दिए ।

Scroll to Top