पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले राज्यको ढुकुटी बलियो बनाउने उद्योग-व्यवसायीको हितका निम्ति कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।
उनले आफूले तिर्नुपर्ने कर समयमै भुक्तानी गर्दै राज्यलाईं सघाउनु नागरिकको कर्तव्य भएको स्मरण पनि गरेका छन् ।
वडाध्यक्ष पराजुली सोमबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको आयकर तथा मूल्यअभिवृद्धि करसम्बन्धी तालिमको समापनको अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै थिए ।
अध्यक्ष पराजुलीले पोखराको गैह्रापाटनमा रहेको पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्योगी-व्यवसायी लक्षित विभिन्न कार्यक्रम संचालन गर्न वडा तयार रहेको पनि बताए ।
वडा नम्बर ४ ले अहिले सप्ताहव्यापी कर संकलन तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिरहेको बताउँदै उनले आफ्नो व्यवसायको अभिलेख राख्नका निम्ति आग्रह पनि गरे ।
संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योग-व्यवसाय फस्टाउँदामात्र राजश्व बृद्धि एवं रोजगारी सिर्जना हुने तथ्य पेश गर्दै यतिबेला व्यवसायीहरुको मनोवल उच्च बनाउनु आवश्यक रहेको बताए ।
नयाँ सरकारले सुशासनको लागि गरेका कामहरुप्रति निजी क्षेत्रको असहमति नरहेको तर उद्योगी-व्यवसायीहरुको मानमर्दन हुने एवं उनीहरुले वर्षौं लगाएर निर्माण गरेको पहिचान नै बिग्रने गरी अगाडि बढाइने प्रक्रियाप्रति भने असहमति रहने उनको भनाइ थियो ।
संघकी महासचिव तथा तालिम संयोजक शोभा गौतमको संचालन रहेको तालिममा सहभागीहरुलाई सिए विवेक श्रेष्ठले करका विविध आयामबारे जानकारी गराएका थिए ।
आउँदो बुधबार पनि संघले उद्योगी-व्यवसायीका निम्ति यस्तैखाले तालिम आयोजना गर्ने महासचिव गौतमले जानकारी दिइन् ।







