बिदाईसँगै ‘पूर्व’ बनेका मन्त्री थापाले भने – ‘मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरे’

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको रूपमा १ वर्ष १० महिना १६ दिन बिताएर उनले आफ्नो कार्यकालका उपलब्धि सार्वजनिक गर्दै पदबाट बिदा भएका छन् ।

आफ्नो कार्यकाललाई सार्वजनिक जीवनको अत्यन्त महत्वपूर्ण, गौरवपूर्ण र स्मरणीय यात्राका रूपमा चित्रण गर्दै उनले नयाँ मन्त्रीका रूपमा आएकी रेखा गुरुङलाई जिम्मेवारी हस्तान्तरण गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू र शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरे । मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरूको समर्पण र परिश्रमकै कारण योजनाहरू सफल भएको उनले बताए ।

उनले भने, ‘तपाईंहरूको इमानदारी र अथक परिश्रमबिना कुनै पनि योजना सफलतापूर्वक कार्यान्वयन हुन सम्भव हुने थिएन ।’

आफ्नो कार्यकालमा शिक्षा, महिला, बालबालिका, युवा, खेलकुद, श्रम तथा रोजगार, भाषा–संस्कृति र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण पहल र उपलब्धि हासिल भएको उनले दाबी गरे ।

आर्थिक वर्ष ०८१/८२ देखि ११ जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत समुदाय तथा लक्षित वर्गका कार्यक्रमहरू कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐतिहासिक कानुन निर्माण भएको छ । उनले भने, ‘दलित अधिकार, अपांगता अधिकार तथा सशक्तिकरणसम्बन्धी कानुन निर्माण गरी कार्यान्वयन प्रक्रियामा लैजाने महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् ।’

यस्तै दीर्घकालीन पुनर्स्थापना केन्द्र स्थापना, शिशु स्याहार केन्द्र सञ्चालन, शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका निर्माण जस्ता कार्यहरू पनि आफ्नो पालामा सम्पन्न भएको उनले उल्लेख गरे ।

युवा सशक्तिकरण, खेलकुद विकास र समावेशी सामाजिक कार्यक्रमहरूको विस्तार सामूहिक प्रयासकै प्रतिफल भएको उनले बताए । जिम्मेवारीबाट बिदा लिँदै गर्दा आफू गर्व, सन्तुष्टि र नयाँ ऊर्जाका साथ आगामी यात्रामा अघि बढेको उनले उल्लेख गरे ।

नयाँ मन्त्री रेखा गुरुङलाई बधाई दिँदै उनले उनीबाट मन्त्रालयले अझ प्रभावकारी, समावेशी र जनमुखी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहिरहने प्रतिबद्धता जनाए ।

Scroll to Top