सम्पत्तिमाथि प्रश्न उठेपछि इन्स्टामा गृहमन्त्रीको जवाफः – भने ‘चेतना भया !’

गृहमन्त्री सुधन गुरुङले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको टिप्पणी गरेका छन् ।

आफैँले पेश गरेको विवरण अनुसार उनले सुनचाँदीदेखि घरजग्गासम्म ठूलो परिमाणमा जोड्न भ्याइसकेका छन् । उनले आफूसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको जनाएका छन् ।

गुरुङको जग्गा जमिनको हिसाब हेरेर धेरैले जिब्रो टोकेका छन् । सम्पत्ति विवरण अनुसार गोरखामा मात्रै उनको २२१ रोपनी जग्गा छ । यो जग्गा आफ्नो पैतृक भएको र हजुरबाको नाममा रहेको गुरुङले जनाएका छन् ।

यस्तै, चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा बुवाको नाममा रहेको छ । गुरुङको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा पनि छ ।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहितका सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । उनीहरूको सम्पत्ति विवरणमा खासगरी सुन, चाँदी लगायतका गरगहनाबारे सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

आलोचना बढ्दै गएपछि गुरुङले आफ्नो अफिसियल इन्स्टाग्राममार्फत यस्तो टिप्पणी गरेका हुन् ।

गुरुङले कुनै मान्छे गरिब भएर जन्मनु गल्ती नभएको भन्दै मृत्यु हुँदा गरिब भएर मर्नु चाहिँ गल्ती हुने बताएका छन् ।

‘तिमी जन्मिंदा गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो,’ गुरुङले इन्स्टाग्रामको स्टोरीमा एक स्टाटस राख्दै भनेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’

उनले ह्यासट्याग प्रयोग गर्दै ‘चेतना भया’ भनेर पनि लेखेका छन् ।

इन्स्टामा उनले ‘के पाइस् नेपाली ? केरा !’ भन्ने गीतलाई पृष्ठभूमिमा राख्दै आफुले कमाएको सम्पत्ति ‘पाप’ नभएको लेखेका छन् ।

Scroll to Top