पोखरामा गत बुधबार साँझ ४२ वर्षीया सिर्जना पौडेलको हत्यामा उनकै भाञ्जाको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा– ५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल पृथ्वीचोकबाट सभागृहतर्फ जानेक्रममा उनीमाथि खुँडा प्रहार भएको र उपचाारकाक्रममा निधन भएको थियो ।
त्यसपश्चात्, कास्की प्रहरीले मुख्य अभियुक्तकारुपमा सन्तोष भनिने २७ वर्षीय शिशिर केसीलाई बुटवल – २ को मनकामना टोलबाट पक्राउ गरेको छ ।
केसी पटके अपराधी हुन् । उनलाई बुटवल प्रहरीको सहयोगमा पक्राउ गरी हिजो साँझ पोखरा ल्याइएको प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । उनको स्थायी ठेगाना पर्वत हो ।
त्यस्तै, समातिएका अर्का अभियुक्त ३२ वर्षीय कुशल परियारले हत्यामा शिशिरको सहयोगीको भूमिका निभाएको प्रहरीको दाबी छ ।
पोखरा – १७ रातोपैह्रा निवासी परियारलाई पनि हिजै पक्राउ गरिएको कार्कीले जनाएका छन् । परियार यसअघि लागुऔषधको मुद्दामा २ पटक पक्राउ परिसकेको व्यक्ति हुन् ।
अभियुक्तसँगै कास्की प्रहरीले वारदातकाबेला प्रयोग भएको मार हान्ने खुँडा र स्कुटरसमेत बरामद भएको छ । पक्राउ परेका अभियुक्तलाई ज्यानसम्बन्धी कसुर अन्तरगत मुद्दा अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सिर्जना कृष्ण क्षेत्रीको दोस्रो श्रीमति रहेको र उनको श्रीमान्को समेत निधन भइसकेको छ । कृष्णले पहिलो श्रीमतिको मृत्युपछि सिर्जनालाई विवाह गरेका थिए ।
कृष्णको पनि २ वर्ष अघि मृत्यु भएको छ भने उनीहरुको हाल ३ वर्षीया छोरी रहेकी छिन् ।
क्षेत्रीको पहिलो श्रीमतिबाट १ छोरा र २ छोरी रहेकोमा छोरा लागुऔषध मुद्दामा जेलमा रहेको र १ छोरीको बिहे भएको जानकारी आएको एसपी कार्कीले बताए ।
‘प्रारम्भिक अनुसन्धानले सम्पत्ति विवाद हत्याको जड भएको हुनसक्ने आंकलन छ’ कार्कीले भने ।







