चाँदीको गहनामा सुनको जलप लगाई बिक्री गर्ने विरुद्ध ‘एक्सन’मा कालिगढ

नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले चाँदीमा सुनको लेप लगाएर वा सुन जस्तै देखिने गरी मिसावट गरेर बजारमा भइरहेको ठगी रोक्न सरकारी निकायसँग समन्वय गर्ने भएको छ ।

चाँदीमा सुनको लेप लगाइएको गहनाको प्रमाणसहित संघले बजार अनुगमनका लागि सरकारी तथा सरोकारवाला निकायसँग मिलेर अघि बढ्ने जनाए ।

संघका केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्माको टोलीले मिसावटयुक्त गहनाका कारण असली कालिगढ समेत बदनाम भएको भन्दै वाणिज्य विभाग, उपभोक्ता मञ्च, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई छापा मार्न पत्राचार गरे ।

उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कालिगढ संघको पत्र प्राप्त भएको जानकारी दिँदै बजार प्रदूषित बनाउने कालिगढहरूको नाम सहित अब राज्यसँग मिलेर सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने गरी छापा मार्ने तयारी गरिएको बताए ।

कालिगढ संघका अध्यक्ष अर्जुन विश्वकर्माले बजार बिगार्ने र बदनाम गराउने कालिगढ, कारखाना र कमसल सामान राखेर प्रोत्साहन दिने पसललाई पटकपटक सम्झाउँदा पनि अटेर गरेको बताए । उनले मिसावट गरी ठगी भइरहेकाले बाध्य भएर सरकारी कार्यालयसँग मिलेर अनुगमनको तयारी गरिएको जानकारी दिए ।

कारखानाले टिकटकबाट भ्रम फैलाएर ठगी गरिरहेको र पसलहरूले कालिगढबाट ल्याएर रिटेलमा बिक्री गर्ने अधिकार भए पनि कारखानाबाटै कमसल गहना सिधै ग्राहकलाई दिने गरेकाले करोडौँ लगानी गरेका पसलहरू समस्यामा परेको विश्वकर्माले बताए ।

उपभोक्ताहरू प्रत्यक्ष रूपमा ठगीमा पर्ने र बैंक तथा वित्तीय संस्थामा धितो बन्धकी राख्दा समेत दीर्घकालीन समस्या उत्पन्न हुने खतरा देखिएकाले यस्तो कदम चालिएको संघले जनाएको छ ।

वास्तविक क्षेत्र नै धराशायी हुने जोखिमका कारण गलत विकृति र मिसावटका गहना उत्पादन तथा बिक्रीमा रोक लगाउन राज्यका निकायमा लिखित रूपमै बाध्यात्मक कदम चाल्नु परेको अध्यक्ष विश्वकर्माले बताए ।

Scroll to Top