११ करोडको सुनसहित ११ जना पक्राउपछि पोउवाद्वारा निष्पक्ष छानबिनको माग

पोखरा उद्योग वाणिज्य संघले कास्की प्रहरीले गरेको सुनचाँदी बरामद तथा कालिगढ पक्राउ प्रकरणको निश्पक्ष छानबिनको माग गरेको छ ।

संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायको स्वभाविक चक्रलाई अवरोध नगर्न,व्यवसायी र कालिगढले वैधानिकरुपले प्राप्त गरेको सुनचाँदी फिर्ता गर्न तथा अवैध कारोबार निरुत्साहित गर्न पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको हो ।

कास्की प्रहरीले शुक्रबार पोखराबाट ठूलो परिमाणमा सुनचाँदी बरामद गरेको थियो भने अवैध कारोबार गरेको भन्दै ११ जना भारतीय मुलका कालिगढलाई पक्राउसमेत गरेको थियो ।

संघका महासचिव शोभा गौतमबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ अवैध कारोबार र व्यवसायलाई निषेध गर्दछ भने संविधानप्रदत्त राज्यबाट इजाजत लिइ कानूनसम्मत रुपले गरिएका व्यवसायमाथि यो वा त्यो बहानामा गरिने धरपकडलाई स्वीकार गर्दैन ।’

विज्ञप्तिमा ठूलो परिणाममा सुनचाँदी बरामद भएको घटना पोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठानको रुपमा रहेको ‘सुनचाँदी व्यवसायी संघ,कास्की र ‘नेपाल सुनचाँदी तथा रत्न आभुषण संघ,कास्की’सँगमात्र नभएर व्यवसायीहरुको अधिकार एवं स्वचालित ‘चक्र प्रणाली’सँग पनि जोडिएको जिकिर पनि गरिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,‘ सुनचाँदी व्यवसाय संचालन,गहना निर्माण र बिक्री–वितरणको एउटा स्वचालित चक्र हुन्छ । विश्वासको आधारमा संचालित यो चक्रअन्तर्गत जसको हातमा सीप हुन्छ अर्थात् जो कालिगढ हो, उसलाई बढी जिम्मेवारी सुम्पिएको हुन्छ । यो व्यवसायीहरुको आवश्यकता र बाध्यता दुवै हो ।’

विज्ञप्तिमा पक्राउ गरिएका कालिगढहरु यहाँका व्यवसायीहरुसँग ३० औं वर्षदेखि इमान्दारितापूर्वक काम गर्दै आइरहेका र उनीहरुको बिस्थापनले सुनचाँदी व्यवसाय नै धराशायी हुने जिकिर पनि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ ती कालिगढहरुले मासिक तलब पाउँदैनन्,कामबापत् ज्याला र जर्ति प्राप्त गर्ने हो । त्यसमार्फत् भन्ने सुनचाँदी व्यवसायीको जिकिरसँग पोखरा उद्योग वाणिज्य संघ पनि सहमति जनाउँछ ।’

संघले नेपाल र भारतबीचको सम्बन्ध र त्यसमै टेकेर यहाँ पेशा–व्यवसाय गरिरहेका कालिगढहरुमाथिको धरपकडले कुटनीति सम्बन्धमा पार्नसक्ने असरप्रति ध्यान दिन पनि आग्रह गरिएको छ ।

Exit mobile version