ed

आज पोखरामा धुमधामसँग मनाइँदै इद उल फित्र, नमाज र दान–पुण्यमा मुस्लिम समुदाय व्यस्त

पोखरा । आज पोखरासहित देशभर मुस्लिम समुदायले उल्लासपूर्वक इद उल फित्र पर्व मनाइरहेका छन् । एक महिनासम्म रोजा (व्रत) पूरा गरेपछि बिहानैदेखि मस्जिद तथा इदगाहमा विशेष नमाज अदा गरिएको छ ।

पोखराका विभिन्न मस्जिदमा भेला भएका मुस्लिम धर्मावलम्बीहरूले नमाजपछि एक–अर्कामा शुभकामना साटासाट गर्दै ठूलाबडाबाट आशीर्वाद लिने क्रम सुरु गरेका छन् । सानालाई आशीर्वाद दिने र आफन्तकहाँ गएर भेटघाट गर्ने परम्पराले आजको दिनलाई झन् विशेष बनाएको छ ।

घरघरमा सेवई, खजुर लगायतका परिकार तयार गरी पाहुनालाई सत्कार गर्ने चलन अनुसार समुदायमा उत्साह छाएको छ । साथै, दीनदुःखी तथा गरिबलाई दान दिने कार्य पनि आजको पर्वको महत्वपूर्ण पक्षका रूपमा रहेको छ । मुस्लिम धर्मावलम्बीहरूले ‘जकात’ तथा ‘सदकातुल फित्र’ (फित्र) मार्फत नगद वा खाद्यान्न सहयोग गरिरहेका छन् ।

एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म निराहार रही आत्मसंयम र आध्यात्मिक शुद्धिको अभ्यास गरिएको रोजा समाप्त भएसँगै चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाउने परम्परा रहेको छ ।

यस अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाई साथीभाइ तथा आफन्तकहाँ पुगेर शुभकामना आदानप्रदान गरिरहेका छन् । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Scroll to Top