पोखराका रहेका मगर समुदायले मनाए भूमे पर्व

पोखरामा रहेका मगर समुदायहरूले भूम्या पर्व भव्यताका साथ मनाएका छन् ।

रोल्पा पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाजले संयुक्त रूपमा पोखराको मालेपाटन खेलमैदानमा विशेष मेला गरी यो पर्व मनाएका हुन् ।

मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुम्या पूजा गरी उद्घाटन गरे ।

प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन् बालीनालीमा किरा नलागोस्, भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूमेरभूम्या पर्व मनाउने प्रचलन छ । विशेष गरी अथार मगरात क्षेत्रमा यो पर्व मनाइन्छ ।

भुमेपर्वको अघिल्लो दिन युवा युवतीहरूले बुकी लेक तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते बिहान बस्तीका हरेक घरमा भित्र्याएपछि भूमे भित्रिएको मानिन्छ ।

आजको दिन व्रत बसी पूजा गर्ने, चामलको सेतो टिकासँगै बुकी फूल लगाउने तथा शुभकामना आदानप्रदान, आगामी वर्षका लागि साडो भाकल गर्ने र भूमे नाच नाच्ने चलन छ ।

भूमिको पूजाआजा मात्रै नभई अठार मगरात क्षेत्रका बसोबासी मगर समुदायले भूम्या पर्वलाई नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् ।

भूम्या पूजा गरी बस्तुभाउको चरिचरण क्षेत्र खुल्ला र बन्द गर्ने, गाउँको मुखिया, पुजारी, कटुवाले चुन्ने काम, आफ्नो गाउँको नयाँ विकास योजना गाउँलेहरूको सहभागितामा निर्माण गर्ने काम पनि भूम्या वर्षकै बेला गर्ने चलन छ ।

यस पर्वले सामाजिक सद्भाव अभिवृद्धि सहित ऐतिहासिक संस्कृतिको जर्गेना गर्नमा महत्त्वपूर्ण योगदान गर्ने नगर प्रमुख आचार्यले जनाए ।

सामुदायिक सशक्तीकरण र एकताको प्रवर्द्धनमा महानगरपालिका सवैप्रकारका सांस्कृतिक र परम्पराहरूको संरक्षण र विकासमा प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

Exit mobile version