पोखरा । आइसीसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार राति भएको रोमाञ्चक फाइनल खेलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो पटक विश्वकप ट्रफी उचाल्न सफल भएको हो ।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्डले सुरुवातदेखि नै दबाब महसुस गरेको थियो । टोलीका ब्याट्सम्यानमध्ये टिम सिफर्ट बाहेक अन्यले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा आक्रामक ५२ रन बनाउँदा कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन जोडे पनि टोलीलाई जिततर्फ लैजान पर्याप्त हुन सकेन ।
बलिङतर्फ भारतका जसप्रित बुमराह सर्वाधिक प्रभावशाली देखिए । उनले चार ओभरमा मात्र १५ रन खर्चिएर चार विकेट लिँदै न्यूजिल्याण्डको ब्याटिङ लाइनअप ध्वस्त पारे। यस्तै अक्षर पटेलले तीन विकेट लिए भने वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले समान एक–एक विकेट हात पारे ।
यस जितसँगै भारतले लगातार दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको छ । यसअघि सन् २०२४ मा पनि भारतले विश्वकप ट्रफी उचालेको थियो ।
