पोखरा । आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं.३ का एमाले उम्मेदवार दामोदर पौडेल वैरागी ले सराङकोटलाई विश्वमञ्चमा चिनाउनको लागि सराङकोट धामुको समग्र विकासमा जोड दिएका छन् ।
वैरागीले शुक्रबार पोखरा-१८ का तोरीपानी, पदेली, ग्यारजाती पार्किङ, लामागाउँ लगायतका बस्तीहरूमा घरदैलो गर्दै स्थानीयहरूसँगको प्रत्यक्ष भेटघाटमा आफ्नो योजना प्रस्तुत गरे । उनले भने, ‘पर्यटनको अपार सम्भावनासहित यस क्षेत्रको विकास गर्न बाह्य लगानी आकर्षित गर्न उपयुक्त नीतिगत सहजीकरण आवश्यक छ ।’
‘सराङकोट केवल सूर्योदय र प्याराग्लाइडिङको गन्तव्य मात्र होइन, यसलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा पनि विकास गर्न सकिन्छ,’ वैरागीले थपे, ‘पर्यटकीय पूर्वाधार विस्तार, सडक स्तरोन्नति, पार्किङ व्यवस्थापन र स्वच्छता प्रवद्र्धनमार्फत यसलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्य राखेका छौं ।’
स्थानीय मतदाताहरूले वैरागीलाई विकासको प्रवर्तकको रूपमा विश्वास गर्दै उनको नेतृत्वमा समर्थन र मत दिने प्रतिबद्धता जनाएका छन् ।
वैरागीले कास्की क्षेत्र नं.३ लाई पर्यटकीय हबका रूपमा समग्र विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै सराङकोटमा थप पर्यटकीय भौतिक संरचना निर्माण र निजी-सार्वजनिक साझेदारी मोडेलमा लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
