पोखरा । पोखरा रंगशालामा जारी २५औँ संस्करणको प्रतिष्ठित प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा प्लानिङ ब्वाइज युनाइटेडले प्रभावशाली प्रदर्शन गर्दै फ्रेन्ड्स क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
माघ २७ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिताको चौथो दिनसम्म आइपुग्दा खेल रोमाञ्चक भइरहे पनि दर्शक संख्या भने अपेक्षाकृत न्यून देखिएको छ ।
खेलको सुरुदेखि नै आक्रामक रणनीतिमा उत्रिएको प्लानिङ ब्वाइजले पहिलो हाफमै दुई गोल गर्दै स्पष्ट अग्रता बनायो। दोस्रो हाफमा थप दुई गोल गर्दै उसले जितलाई फराकिलो बनायो ।
प्लानिङ ब्वाइजका फरवार्ड पापा इबु केबे खेलका नायक बने । उनले ४५औँ, ५४औँ र ८१औँ मिनेटमा गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे। एलेक्स विलियनले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
फ्रेन्ड्स क्लबले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ। केबे ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
भोलि आयोजक सहारा र पुलिस क्लबबीच प्रतिस्पर्धा
प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे यही पोखरा रंगशालामा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
सहारा क्लबले प्रतियोगिताको पहिलो दिन गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । उता नेपाल पुलिस क्लब भने ‘बाई’ पाउँदै सिधै क्वाटरफाइनल चरणमा प्रवेश गरेको टोली हो ।
दुवै टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आयोजक सहारा घरेलु मैदानको फाइदा उठाउने योजनामा रहँदा पुलिस क्लब सिधै क्वाटरफाइनलबाट यात्रा सुरु गर्दै बलियो चुनौती प्रस्तुत गर्ने तयारीमा छ ।
दर्शक संख्या न्यून, भविष्यप्रति चिन्ता
हरेक वर्ष सहारा क्लबले आयोजना गर्दै आएको यो प्रतियोगिता सुविधा सम्पन्न प्याराफिट निर्माणपछि अझ व्यवस्थित बनेको छ । तर यस संस्करणमा दर्शकको उपस्थिति न्यून देखिनु चिन्ताको विषय बनेको छ ।
खेलस्तर प्रतिस्पर्धात्मक हुँदाहुँदै पनि मैदानमा दर्शकको संख्या घट्दै जानु पोखराको फुटबल भविष्यप्रति नै प्रश्न उठाउने अवस्था रहेको खेलप्रेमीहरूको भनाइ छ । यस्तै अवस्था रहिरहे आयोजकले निरन्तरता दिँदै आएको प्रतियोगिता नै प्रभावित हुने हो कि भन्ने चिन्ता समेत व्यक्त हुन थालेको छ ।
यस विषयमा सम्बन्धित निकायले समयमै गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
