पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलहरू आ आफ्नो तयारीमा जुटिरहँदा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) यतिखेर पार्टीका नेता तथा कार्यकर्तासँगै आम मतदातालाई भेट्ने क्रमलाई तीव्रता दिएका छन् । उम्मेदवारी दर्तासँगै चुनावी गतिविधिलाई अघि बढाइरहेका बास्तोला टोल तथा वस्तीमा पुग्दा आम मतदाताबाट पाइरहेको माया र सदभावले उत्साहित बनेका छन् ।
राजनीति पेशा नभै सेवा हो भन्ने मूल्य मान्यतालाई सँधै आत्मसात गरिरहने बास्तोला पार्टीमा इमान्दार र स्वच्छ छवी भएको नेताकारुपमा रहेकाले सिङ्गो पार्टी पंक्ति नै एकतावद्ध भएर जिताउन लागिपरेको छ । पोखराको फूलबारीमा एउटा शिक्षित परिवारमा २०२३ सालको अन्त्यतिर जन्मेका बास्तोलाले प्रारम्भिक शिक्षा शिवशक्ति स्कुलबाट सुरु गर्दै कक्षा ७ पछि मालेपाटनको बाराही माविबाट एसएलसी उत्तिर्ण गरेका थिए ।
पृथ्वीनारायण क्याम्पसबाट बिएल उत्तीर्ण गरेपछि उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले बिएड समेत पूरा गरेका थिए । अध्ययनले खारिएका बास्तोलाले निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकाससँगै कानुन निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न आफू सक्रिय रहने बताउँदै आएका छन् ।
२०३६ सालमा जनमत संग्रहको घोषणा भएसंगै विपी कोइराला पोखरा विमानस्थलमा ओर्लन खोज्दा तत्कालीन पञ्चहरुको अवरोधलाई चिर्न कांग्रेसको विशाल आमसभा आयेजना गरेको थियो । उनका दाजु गुरुप्रसाद संगै पुगेका माधव बास्तोला तत्कालीन समयमा विपीले गरेको भाषणबाट नै प्रभावित बनेका थिए । उनको मस्तिष्कमा ताजै रहेको “कानुनभन्दा माथि राजा कदापि हुन सक्दैनन्, प्रजातन्त्र र मुलुकका लागि बहुदलीय शासन व्यवस्था नै चाहिन्छ ।”, भाषणका क्रममा विपीले भनेको ती शब्दले उनको कलिलो मस्तिष्कमा गहिरो छाप पारेको थियो ।
बाराही माविमा पढ्दा नेपाल विद्यार्थी संघको एकाइमा रहेर काम गरेका उनले विंस २०४२ मा उनले कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । २०४२ सालमै पोखरा नगर पञ्चायतमा प्रमुख र उपप्रमुखमा जनपक्षीय उम्मेदवार केशवराज पराजुली र तीर्थ श्रेष्ठलाई जिताउन उनी सहितका युवाहरुको क्रियाशीलता लोभलाग्दो थियो । विंस २०४६ को जनआन्दोलनमा पूरै खटिएका उनी तत्कालीन समयमा पञ्चायतका पक्षधरहरूले जागिरको प्रलोभन देखाउँदा पनि प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याएर देश र जनताको सेवा गर्ने उद्देश्यका साथ राजनीति नै रोजेका माधव यतिवेला जनताको सेवा गर्ने अवसरको लागि चुनावी मैदानमा होमिएका छन् ।
प्रजातन्त्रको पुनःस्थापना पछि वडा तहबाटै संगठन विस्तारमा लागेका उनी २०४९ सालमा पोखरा ११ को नेपाली कांग्रेसको वडा सभापतिमा चिर्वाचित भएका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा उनी सोही वडाको वडाध्यक्षमा निर्वाचित भएर सीमित स्रोत र साधनका बाबजुद विकास निर्माणमा खटिएर वडावासीको मन जित्न सफल माधव बास्तोला २०६२/६३ को आन्दोलनका क्रममा प्रहरी हिरासतमा कयौ रात विताएका थिए । पार्टीको १२ औं र १३ औं महाधिवेशनमा पार्टीको कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति बनेका उनले दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस उम्मेदवार शारदा पौडेललाई जिताउन उल्लेख्य भूमिका निर्वाह गरेका थिए । पार्टीको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै हाल नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रवक्ताको जिम्मेवारीमा रहिरहेका छन् ।
कास्की–२ बाट प्रतिनिधि सभा सदस्य बनेर यस क्षेत्रको समृद्धि र विकाससँगै समग्र देशमा सुशासन र विकास अघि बढाउन योगदान गर्ने उनको इच्छा छ । पूरै महानगरका वडा भएर पनि विकास दृष्टिले ओझेलमा परेका स्थानको समग्र समुन्नति उनको मुख्य ध्येय बनेको छ । पोखराको मुख्य समस्या बनेको फोहरलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्ने योजनासँगै कसैलाई मर्का नपर्ने गरी उपयुक्त स्थान छनोट गरी आधुनिक प्रशोधन केन्द्र बनाएर फोहरबाट ऊर्जा उत्पादन गर्नुुपर्ने उनको सोच छ ।
पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्दै तालतलैया र नदीको संरक्षण गर्ने तथा पोखरालाई केन्द्रमा राखेर धार्मिक पर्यटन करिडोर निर्माण गर्ने लक्ष्य बोकेका उनले पोखरालाई गण्डकी प्रदेशको मात्र नभई देशकै शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने योजना सुनाउँदै मतदातासंग भलाकुसारी गरिहेका छन् । युवा स्वरोजगारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने बास्तोलाले विदेशिएका युवालाई स्वदेश फर्काउन मुलुकभित्रै शिक्षा र रोजगारीको उत्कृष्ट अवसर सिर्जना गर्ने तथा सरकारी सेवा प्रवाहमा रहेको झन्झट र भ्रष्टाचार अन्त्य गर्ने उनको अठोट छ ।
कांग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर भएको कुरालाई आफूहरूले पटकपटक देख्दै र भोग्दै आएको बताउँदै उनले निर्वाचन मार्फत कांग्रेसलाई बलियो बनाउनुुपर्ने अवस्था आएको बताए । मतदाता भेटघाटका क्रममा उनले तत्तत् स्थानका मतदातासँग त्यहाँका समस्या बुझ्दै उनीहको अपेक्षा सहित सुझाव संकलन समेत गरिरहेका छन् ।
