पोखरा । प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ ।
समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बाल मन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड मावि र ग्लोबल कलेजियट जितविहीन् छन् । यी दुई टोलीको लिग चरणको अन्तिम खेल बुधबार सान्त्वना जितका लागि खेल्नेछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै वाराही माविले सेमीफाइनल पुग्ने आशा जिवितै राखेको छ ।
समूह ‘सी’ अन्तर्गत भएको पहिलो खेलमा प्रतिभा माविसँग ३ विकेटले पराजित वाराही माविले मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । प्रतिभा मावि र वाराही माविको १/१ जित भएकाले अब सेमीफाइनल यात्रा सुनिश्चित गर्न माघ २२ गते यी दुई टोली आमनेसामने हुनेछन् ।
प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा टप्स मावि र छोरेपाटन मावि तथा दोस्रो खेलमा डायमण्ड मावि र ग्लोबल कलेजियट मावि प्रतिष्पर्धामा उत्रिने छन् ।
