पोखरा । पोखरा रंगशालामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले भारतलाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दै आफ्नो दबदबा कायमै राखेको छ ।
बंगलादेशको जितमा कप्तान अर्पिता विश्वास र अल्पी अख्तरले १/१ गोल गरे। खेलको सुरुआतदेखि नै आक्रामक देखिएको बंगलादेशले पहिलो हाफमै दुई गोल गर्दै खेलमा आफलाई बलियो सावित गरेको थियो।
खेलको २९औँ मिनेटमा अर्पिता विश्वासले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। त्यसको ११ मिनेटपछि, ४०औँ मिनेटमा अल्पी अख्तरले दोस्रो गोल थप्दै टोलीलाई २–० को सहज पारिन।
दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल भने निस्कन सकेन। भारतले दोस्रो हाफको सुरुआतमै खेलाडी परिवर्तन गर्दै ४६औँ मिनेटमा प्रितिका बर्मनको स्थानमा अनुस्का कुमारीलाई मैदान उतारेको थियो। यसअघि बंगलादेशले ३७औँ मिनेटमै दोहोरो खेलाडी परिवर्तन गरेको थियो।
भारतकी मुख्य प्रशिक्षक पामेला कोन्टीले दोस्रो हाफमा थुप्रै खेलाडी परिवर्तन गरे पनि टोलीले जादु देखाउन सकेन ।
यस जितसँगै बंगलादेशले समूह चरणमा ६ अंक जोडेको छ। यसअघि शनिबार साविक विजेता बंगलादेशले भुटानलाई १२–० ले पराजित गरेको थियो। सोही दिन भारतले नेपाललाई १–० ले हराउँदै ३ अंक जोडेको थियो।
