“सस्तो आश्वासन होइन, नागरिकको पक्षमा काम गर्छु”: बिना गुरुङ

पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधि सभा सदस्यकी उम्मेदवार बिना गुरुङले मतदातासँग भेटघाट गर्दै नीतिगत काममा आफ्नो प्रतिबद्धता जनाएकी छिन ।

आइतबार पुरन्चौर क्षेत्र र सोमबार हेमजावासीसँग भेट्दा बिनाले मतदाताको समस्या सुन्दै समाधानमुखी पहल गर्ने वाचा गरिन् । उनले भनिन्, “चर्का भाषण र सस्तो आश्वासन दिने काम मेरो शैली होइन । म नीतिगत तहबाटै नागरिकको पक्षमा काम गर्नेछु ।”

हेमजावासी किसानले कृषिको आधुनिकीकरण र बजारीकरणमा भएको असफलता र विचौलियाको हस्तक्षेपको दुखेसो पोखे । यसका प्रत्युत्तर स्वरूप बिनाले कृषि क्षेत्रको व्यवस्थित प्रयोग र बढ्दो सहरीकरण नियन्त्रणमा ल्याउन संसदमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “हेमजाले वार्षिक २५ करोड रुपैयाँको आलु मात्र उत्पादन गर्छ। यही क्षेत्रले पोखरालाई तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदान दिएको छ। अब यसलाई सहरीकरणको चपेटाबाट बचाएर व्यवस्थित गर्न नीतिगत कदम आवश्यक छ ।”

स्वार्थ नभएको राजनीतिमा प्रवेश गरेको बताउँदै बिनाले नागरिकको पक्षमा, सुशासनमा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता दोहोर्याइन् ।

महिला सशक्तिकरण, संस्कृति संरक्षण र सामाजिक न्यायका क्षेत्रमा सक्रिय रही बिनाले माटो सुहाउने नीति र विकासमा जोड दिने वाचा गरिन् ।

Exit mobile version