काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर तथा हाल प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहले शहीद दिवसको अवसरमा राज्य र सत्ताको चरित्रप्रति गम्भीर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले राणा शासनविरुद्ध संघर्ष गरेका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको बलिदानको स्मरण गराउँदै ८५ वर्ष बितिसक्दा पनि शहीदका सपना पूरा हुन नसकेको टिप्पणी गरेका हुन् ।
उनले शहीदहरूको बलिदानपछि राणा शासनको अन्त्य भए पनि राज्य जनताको हुन नसकेको उल्लेख गर्दै त्यसयता पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपरेको यथार्थ औँल्याएका छन्। “८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिन सकेन,” शाहले आफ्नो स्टाटसमा लेखेका छन् ।
शाहले विगतदेखि वर्तमानसम्म जनताले बारम्बार बलिदान दिनुपरेको तर ती बलिदानको मूल्य राज्यले चुकाउन नसकेको आरोप समेत लगाएका छन्। पछिल्लो समय भदौ महिनामा सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनालाई उल्लेख गर्दै उनले इतिहास पुनः दोहोरिएको टिप्पणी गरेका छन् ।
उनको भनाइमा अब शहीदका सपना पूरा गर्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको छ। “लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा उन्नत बनाउनु आजको दायित्व हो,” शाहले लेखेका छन् ।
राज्यका निकायहरूमा बढ्दो दलीयकरणप्रति चिन्ता व्यक्त गर्दै उनले राज्यलाई जवाफदेही र पारदर्शी बनाउने विकल्प अब टार्न नसकिने बताएका छन् । “शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन,” उनको स्टाटसमा उल्लेख छ ।
शाहले शहीद दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी शहीदका रगतलाई सम्मान गर्दै उनीहरूले देखेको सपना पूरा गर्ने संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने धारणा राखेका छन् । साथै, अब फेरि कसैले शहीद बन्न नपरोस् भन्ने सन्देश पनि उनले दिएका छन्
उक्त स्टाटसलाई धेरैले वर्तमान राजनीतिक सन्दर्भ र आगामी निर्वाचनसँग जोडेर हेरेका छन्। विशेषतः झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रतिस्पर्धाको सन्दर्भमा बालेन शाहको यो टिप्पणीलाई राज्यसत्ता र पुरानो राजनीतिक नेतृत्वमाथिको कडा आलोचनाका रूपमा विश्लेषण गरिएको छ ।
