स्याङ्जा । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) दुई खेल हुँदैछन्।
पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा भइरहेको प्रतियोगिताको पहिलो खेल समूह ‘सी’ अन्तर्गत आँधीखोला गाउँपालिका र गल्याङ नगरपालिकाबीच हुनेछ। दुवै टोलीले एक–एक खेल जितिसकेका छन्।
दोस्रो खेल समूह ‘ए’ अन्तर्गत बिरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाबीच हुनेछ। यो समूहको पहिलो खेल हो। पुतलीबजारले आज आदिल आलमलाई टिममा समेट्ने जनाएको छ। यसअघि समूह ‘बी’ बाट वालिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका ११ पालिकाको सहभागिता रहेको छ। चार समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए, बी र सी मा तीन–तीन पालिका तथा समूह डी मा दुई पालिका रहेका छन्।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यस्तै, तेस्रो हुने टोलीले एक लाख र सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्लेयर अफ द म्याचलाई पाँच हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
