काठमाडौ । गृह मन्त्रालयले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा आवश्यक पर्ने सबै प्रकारका सुरक्षा व्यवस्थालाई मजबुत पारिएको जनाएको छ ।
मन्त्रालयले निर्वाचन सुरक्षाका बारेमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको सबै सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखिएको जानकारी दिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनपछि मुलुकको कानुनी शासन शून्य अवस्थामा पुगेकोमा त्यसलाई रातदिनको प्रयासपछि लयमा ल्याइएको बताए ।
उनले भने, ‘चारैतिर असुरक्षा थियो, राज्यविहीनताको अवस्था थियो, त्यस्तो अवस्थामा बनेको वर्तमान सरकारले देशलाई राज्यविहीनताको अवस्थाबाट पूर्ण रूपले मुक्त गराएर मुलुका विधिको शासन स्थापित गर्न सफल भएको छ ।’ उनले अब मुलुक २१ फागुनको निर्वाचनमा अघि बढेकाले सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिए । गृहमन्त्री अर्यालले आफूहरू जननिर्वाचित सरकारलाई शासनसत्ता सुम्पन्न आतुर रहेको बताए ।
गृहमन्त्री अर्यालले सुरुमा आफूमाथि लगातार आक्रमण गर्दै मुलुकको शान्ति सुरक्षा भंग गराउनेखालका प्रयत्न भए पनि त्यस्ता सबैखाले प्रयत्नलाई निस्तेज पार्न सफल भएको बताए ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था मजबुत पारिएकाले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास जनाए ।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता आनन्द काफ्लेले निर्वाचन तयारीका सम्बन्धमा भइरहेका विभिन्न कार्यहरूको विस्तृत जानकारी दिएका थिए । प्रवक्ता काफ्लेले निर्वाचनका सवालमा आवश्यक पर्ने कानुनी र नीतिगत तयारी, व्यवस्थापकीय कार्यहरू, निर्वाचनको तयारीको लागि थप अनुकूल वातावरण सिर्जना गर्ने सम्बन्धमा भएका कार्यहरूका बारेमा विस्तृत जानकारी गराएका थिए ।
