माउन्ट एभरेष्ट स्कुलको म्याराथन

पोखरा । पोखरा २७ डाँडाकोनाक स्थित माउन्ट एभरेष्ट स्कुलले राष्टिय एकता दिवसको अवसरमा आज (शनिबार) आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक तथा कर्मचारीहरु बीच बिभिन्न समूहमा म्याराथुनको आयोजना गर्यो ।

राष्टिय एकता दिवसको पूर्व सन्ध्यामा आफ्नो मन, घर र विद्यालयदेखि विश्वसम्म एकता, करुणा र शान्तिको सन्देश फैलाउने उद्येश्यले सो म्याराथुन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक युक्त नारायण अर्यालले बताए ।

“अहिलेका कलिला बाबुनानीहरुलाई पाठ्यक्रमा दिइएका शिक्षण सिकाइ क्रियाकलापमा भन्दा बढी शान्त र करुणा भावले आनन्दित जीवन जिउनेकला सिकाउनु पर्ने आवश्यता छ । यसका लागि अभिभावक र शिक्षकहरुले पनि हातेमालो गर्न जरुरी छ ।

मानिस पूर्ण रुपमा स्वास्थ्य रहन शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक हरेक पक्षमा सन्तुलित हुन जरुरी छ । सामूहिक रुपमा यही सन्देश लिन र दिनका लागि आज हामी सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकहरु यस रंगशालामा उपस्थित छौँ, उनले भने ।

पोखरा महानगरपालिका २७ का अध्यक्ष पूर्ण कुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा दुई देखि कक्षा छ सम्म अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सो म्याराथुन कक्षागत रुपमा केटा र केटीको छुट्टा छुट्टै समूहमा खेलाइएको थियो भनेँ अभिभावकहरु तथा शिक्षक कर्मचारीहरुको महिला तथा पुरुष गरी दुइ छुट्टै समूहमा खेलाइएको थियो ।

प्रतियोगितामा समूहगत रुपमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाइ मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भनेँ अभिभावक तथा शिक्षक कर्मचारीहरुलाइ नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्गले एकता दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारी एकै ठाउँमा हर्षोल्लासका साथ देख्न पाउँदा गर्व लागेको बताए ।

विद्यालयले बालमैत्री वातावरण, क्रियाकलापमा आधारित शिक्षण सिकाइका साथै समुदायसँग सहकार्य गर्दै छोटो समयमा नै पोखरामा स्थापित शिक्षण संस्था हुन सफल भएकोमा प्रशंशा समेत गरे । अबको शिक्षा सीपमा दख्खल राख्ने, प्रबिधि मैत्री र जीवन जिउने कलासँग जोडिनु पर्छ, उनले भने ।

Exit mobile version