जीयूको उपकूलपतिमा ६ जनाको आवेदन स्वीकृृत

santan ads

गण्डकी विश्वविद्यालय (जीयू)को रिक्त रहेको उपकुलपति पदका लागि ६ जना उम्मेदवारहरूको नामावली स्वीकृत भएको छ ।

उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले सूचना प्रकाशित गर्दै दरखास्त दिएकामध्ये योग्यता पुगेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।

समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८२’ को दफा ७ को उपदफा (१) बमोजिम मूल्यांकन र छनोट प्रक्रियाका लागि यी नामहरू स्वीकृत गरिएको जनाएको छ । ६ जनाको दरखास्त परेकामा सबैको स्वीकृत भएको सिफारिस समितिले जनाएको छ । उनीहरुलाई प्रस्तुतीकरणका लागि माघ ४ गते बोलाइएको छ । माघ ३ गतेबाट निर्वाचन आचारसंहिता लागु हुने भएकाले प्रक्रिया रोकिने सम्भावना बढी छ ।

स्वीकृत भएका उम्मेदवारहरूमा कृष्णराज अधिकारी, तुलसीराम भण्डारी, र वीरबहादुर खनाल क्षेत्री छन् । त्यसैगरी सरोज कोइराला, कपिल अधिकारी र चन्द्रबहादुर थापाको दरखास्त पनि स्वीकृत भएको छ । उपकुलपति सिफारिस समितिको सचिवालयले पुस १ गते सूचना जारी गरी दरखास्त आह्वान गरेको थियो ।

यसअघि उपकुलपति नियुक्तिको यो प्रक्रिया सुरु हुनुपूर्व उपकुलपतिको योग्यता हेरफेर गर्नका लागि गण्डकी प्रदेश सरकारले विश्वविद्यालय ऐन नै परिमार्जन गरेको थियो । जसमा उपकुलपति बन्नका लागि आवश्यक पर्ने अनुभव र शैक्षिक योग्यताका मापदण्डहरूमा फेरबदल गरी ऐन संशोधन गरिएको थियो । निश्चित व्यक्तिलाई लक्षित गरी योग्यताको दायरा हेरफेर गरिएको भन्दै सो समयमा संसद् र बाहिर समेत तीव्र आलोचना भएको थियो । सोही परिमार्जित ऐन र कार्यविधिका आधारमा समितिले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

आवेदनका साथमा उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभवका कागजात र विश्वविद्यालय विकासका लागि आफ्नो व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) समेत पेस गरेका छन् । सिफारिस समितिले अब स्वीकृत नामावलीमा रहेका उम्मेदवारहरूको कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट मूल्यांकन गरी उपयुक्त नाम सिफारिस गर्नेछ ।

समितिले छनोट गरेका तीन जना उम्मेदवारको नाम कुलपति (मुख्यमन्त्री) समक्ष सिफारिस गर्ने र सोही मध्येबाट एक जनालाई उपकुलपति नियुक्त गरिने कानुनी व्यवस्था छ ।

Scroll to Top