शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विगतमा विश्वविद्यालयको उपकुलपति (भिसी) बन्नका लागि आफूसँग २ करोड रुपैयाँ माग गरिएको र राजनीतिक सौदाबाजी गर्न दबाब दिइएको सनसनीपूर्ण खुलासा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उनले उपकुलपति नियुक्तिका लागि ‘ब्रिफकेस’ र ‘राजनीतिक भरिया’ हुनुपर्ने बाध्यताका कारण आफू असफल भएको बताएका छन् ।
विगतमा धेरै पटक विश्वविद्यालयको रिक्त उपकुलपति पदमा छनोट समितिले आफ्नो नाम सिफारिस गरेकोमा आभार प्रकट गर्दै उनले उपकुलपति बन्न विशेष प्रकारको योग्यता चाहिने कुरा आफूलाई पहिले थाहा नभएको उल्लेख गरे । १० वर्षअघि एउटा विश्वविद्यालयको उपकुलपति सिफारिस सूचीमा नाम परेपछि उनले दुईवटा योग्यताको कमीका कारण आफूले सो पद पाउन नसकेको यथार्थ खुलेको बताए ।
उनले भनेका छन्, ‘सिफारिसमा नाम समावेश भएपछि विभिन्न राजनीतिक दलका कार्यकर्ताको फोन व्यवस्थापन गर्न हम्मेहम्मे नै पर्यो । यतिसम्म कि त्यतिखेर सत्तामा हालीमुहाली गर्ने राजनीतिक दलका कार्यकर्ताले तपाईंसँग एकपटक बसेर विश्वविद्यालयको बारेमा कुरा गर्न हाम्रो पार्टीले चाहेको छ भनेर भेट्ने चाहना गरे ।’
बालुवाटारको नेपाल हाउसमा भेट्ने समय तय भएको र त्यहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ताको भीड देखिएको उनले बताए ।
‘मसँग भेट्नेको टेबुल छुट्टै थियो । करिब ७-८ जना कार्यकर्ताले मलाई स्वागत गरे । तीमध्ये सम्बन्धित दलका केन्द्रीय समितिका एकजना सदस्य पनि थिए जो मलाई देख्नेबित्तिकै बाहिरिए किनकि हामीले एकअर्कालाई शिक्षाका विभिन्न कार्यक्रममा राम्ररी चिन्ने मौका पाएका थियौँ ,’ उनले भनेका छन् ।
केन्द्रीय सदस्य बाहिरिनुको रहस्य कार्यकर्ताले बार्गेनिङ गर्न थालेपछि मात्र खुलेको उनले जानकारी दिए । उनले घटना स्मरण गर्दै भने, ‘कार्यकर्ताले फलानाले २ करोड दिने भयो, तपाईं कति दिने भनेर सोधे । म त छाँगाबाट खसे जस्तो भएँ । त्यतिखेर सम्म उनीहरूले के अर्डर गरे खाए, मैले पनि एक गिलास जुस लिएँ ।’
कार्यकर्ताहरू उत्तरको प्रतीक्षामा रहँदा आफू जुरुक्क उठेर ‘म उपकुलपति पद खरिद गर्न सक्दिन, मेरो नैतिकताले यो दिँदैन, यो कुरा तपाईंहरूको पार्टी प्रमुखलाई भनिदिनुहोला’ भन्दै निस्किएको उनले बताए । उनले थपे, ‘त्यति रकम म सँग हुँदो हो त म शिक्षाको एउटा केन्द्र खोलेर गरिबको शिक्षामा खर्च गर्ने थिएँ ।’ उनले आफूलाई बोलाएकोमा धन्यवाद दिँदै उनीहरूले खाएको खाजाको २३४० रुपैयाँ बिल तिरेर त्यहाँबाट हिँडेको बताएका छन् ।
त्यसको भोलिपल्टै अर्को दलले फोन गरेर पार्टीलाई सहयोग गरे भिसी बनाइदिने आश्वासन दिएको उनले खुलाए । उनले कस्तो सहयोग भन्ने जिज्ञासा राख्दा फोन गर्ने व्यक्तिले दलका केही मान्छेलाई रोजगारी दिने लिखित ग्यारेन्टी र एउटा मेडिकल कलेजको सम्बन्धन मागेको उनले बताए । सो वचन दिन नसक्ने बताएपछि उपकुलपति नभए पनि केही छैन भन्ने जवाफ दिएको उनले उल्लेख गरे ।
आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘त्यसपछि मलाई थाहा भयो उपकुलपति हुन कि राजनीतिक दलको भरिया हुनुपर्ने रहेछ कि ब्रिफकेस । म दुवै योग्यतामा असफल भएँ ।’ पटकपटक यस्ता घटना भोगे पनि आफू उपकुलपति नभएकोमा गर्व लागेको र त्यसैका कारण आजसम्म समाजमा शिर ठाडो पारेर हिँड्न सकेको उनले बताए ।
अहिलेको माहोल फरक रहेको र उपकुलपति हुनका लागि दलको भरिया बन्न वा ब्रिफकेस बुझाउनु नपर्ने उल्लेख गर्दै उनले कार्यविधिले तोकेको योग्यता पूरा भएका सबै विद्वान् वर्गलाई निर्धक्क भई आवेदन दिन अनुरोध गरेका छन् । कुनै पनि दल वा व्यक्तिको नाम नखुल्याउनुलाई उनले आफ्नो नैतिक जिम्मेवारी बताएका छन् ।
अन्त्यमा, आफ्नो उमेर ढल्कँदै गएको र आफूभन्दा योग्य मान्छे धेरै रहेको भन्दै उनले योग्य व्यक्ति उपकुलपति बनून् भनी शुभकामना दिएका छन् ।







