पोखरा । २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ ।
पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो ।
कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै बिनिशा तामाङ क्रमशः प्रथम र द्वितीय एवम् अमरसिंह मा.वि.का कक्षा ५ का अस्मिता बिक र कुँडहर आ.वि.कक्षा ३ का अन्जना गुरुङ तृतीय स्थान प्राप्त गरे ।
त्यस्तै कक्षा ७ देखि ११ सम्मको प्रतियोगितामा कक्षा ११ का ऋषि लोहोनी प्रथम, कक्षा १० का गौरी देउवा द्वितीय र कक्षा ९ का पूर्णिमा गुरुङले तृतीय स्थान प्राप्त गरिन ।
कार्यक्रममा पोखरा महानगरपालिका अपाङ्ग सञ्जालका संयोजक गङ्गाबहादुर खड्काले दृष्टिबिहिनहरूलाई उज्यालो संसार देखाउने ब्रेल लिपिका आविष्कारक लुइ ब्रेलको योगदान अतुलनीय भएको बताए ।
नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य लक्ष्मण सुबेदी,कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले लुइ ब्रेलको योगदानको चर्चा गर्दै नेपालमा ब्रेल लिपि भित्राउने जङ्गबहादुर बोगटीलाई पनि स्मरण गरेका थिए ।
अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुशिल होदार र सुनिता ज्ञवालीले गरेका थिए ।
