‘नेपाली कांग्रेससँग कुनै गुनासो छैन, स्वेच्छाले रास्वपा भए’ – मिलन थापा

राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार पोखरामा आयोजित कार्यक्रममार्फत रास्वपा प्रवेश गरेकी मिलन थापाले स्वनिर्णय भएको बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्ने क्रममा थापाले भनेकी छिन् म नेपाली कांग्रेसमा रहँदा जुन जिम्मेवारी दिइएको थियो, त्यसप्रति आभारी छु ।


थापाले भनेकी छिन्ः

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकी छु।

कुनै पनि मानिस राजनीतिबाट अछुतो रहन सक्दैन। मानिसको जन्म देखि मृत्यु पर्यन्त कतै न कतै राजनीति जोडिएकै हुन्छ। आफ्नो इच्छा र अनुकूलता अनुसार राजनीतिमा कति क्रियाशील हुने वा नहुने भन्ने मात्र आफूमा आधारित रहेको हुन्छ।

राजनीतिलाई पेशा बनाइनु हुँदैन। यदि सच्चा मनले गर्ने हो भने राजनीति, राष्ट्रसेवा गर्ने सबैभन्दा नजिकको माध्यम हो भन्ने मलाई लाग्दछ। म आफू झन्डै डेढ दशक देखि विभिन्न सामाजिक संस्थाहरुमा रहेर समाज सेवामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिएँ तर अब समाज सेवासँगै राजनीतिक माध्यमद्वारा राष्ट्र सेवाका लागि पनि अग्रसर भएर अगाडि बढेकी छु।

देशमा सुशासन र विकासका लागि मेरो पनि केही योगदान रहोस् भन्ने उद्देश्यका साथ म यस पार्टीमा प्रवेश गरेकी हुँ।

झन्डै एक दशकदेखि म नेपाली कांग्रेस पार्टीमा रहँदा उक्त पार्टीले मलाई जुन स्थान र भूमिका प्रदान गर्यो त्यसप्रति सदैव आभारी रहनेछु। नेपाली कांग्रेस पार्टीप्रति मेरो कुनै गुनासो भएर अर्को पार्टीमा प्रवेश गरेको भन्ने नबुझिदिनुहोला भनेर आग्रह पनि गर्न चाहन्छु।

राष्ट्रिय स्वतन्त्र पार्टीमा भएका धेरै साथीहरूको अनुरोध र आफ्नो सहजता लाई मध्यनजर गर्दै आफ्नै स्वनिर्णय गरी यस पार्टीमा प्रवेश गरेकी हुँ। अब यस राष्ट्रिय स्वतन्त्र पार्टीको उद्देश्य र घोषणापत्रमा मेरो आफ्नो इमान्दारिता र निष्ठता रहनेछ।

Exit mobile version