मेरुदण्डको पुनर्निर्माण: के आधुनिक प्रविधिले पक्षघात भएकाहरूको जीवन बदल्न सक्छ?

सेन सेन / सीजीटीएन: सन् २०२४ को डिसेम्बर २४ मा ड्युटीमा रहेकै बेला ट्राफिक प्रहरी अधिकृत लिउ बोकी एक भयानक सडक दुर्घटनामा परे। उक्त दुर्घटनामा उनको घाँटीको मेरुदण्ड (सर्भिकल स्पाइन) भाँचिनुका साथै ‘स्पाइनल कर्ड’ मा पूर्ण रूपमा चोट लाग्यो। जसका कारण उनले घाँटीभन्दा मुनिको सम्पूर्ण भागको संवेदना र चाल गुमाए।

सामान्यतया यति गम्भीर चोट लागेका व्यक्तिको कि त तत्काल मृत्यु हुन्छ, कि त जीवनभर पूर्ण पक्षाघात (प्यारालाइसिस) को अवस्थामा रहनुपर्छ। तर, दुर्घटनाको ६ महिनापछि चिकित्सकहरूको सहयोगमा लिउ पुनः उठ्न सफल भएका छन्। ‘एक्सोस्केलेटन’ मेसिनको सहायताले उनले दुर्घटनापछिको आफ्नो पहिलो पाइला चालेका छन्।

उनको यो अकल्पनीय स्वास्थ्य सुधारमा अत्याधुनिक चिकित्सा प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ।

लिउको यो चमत्कारिक सुधारको पछाडि जिलिन विश्वविद्यालयको सेकेन्ड नर्मन बेथुन अस्पतालका उप-प्रमुख एवं मेरुदण्ड शल्यक्रिया विज्ञ डा. वु मिन्फेइको ठूलो योगदान छ। अस्पताल भर्ना हुँदा लिउको जीवित रहने सम्भावना शून्य बराबर थियो। चिकित्सक टोलीले एक जोखिमपूर्ण र प्रयोगात्मक शल्यक्रिया गर्‍यो, जसमा लिउ बाँच्न सफल भए।

यसलाई उनको उपचार यात्राको पहिलो चमत्कार मानियो। उनी पहिले सैनिक सेवामा रहेका कारण उनको मजबुत शरीरले पनि बाँच्नका लागि बल पुर्‍याएको विश्लेषण गरिएको छ।

दुर्घटनाको एक महिनापछि डा. वुले लिउको ‘स्पाइनल कर्ड इन्टरफेस’ नामक अत्याधुनिक शल्यक्रिया गरे। यस प्रविधिले ‘ब्रेन-मेसिन इन्टरफेस’ को प्रयोग गरी मस्तिष्क र मेरुदण्डको बीचमा एक ‘डिजिटल ब्रिज’ (विद्युतीय पुल) निर्माण गर्छ, जसले पक्षाघात भएका अंगहरूमा आंशिक कार्यक्षमता फर्काउन मद्दत गर्छ। शल्यक्रियाको ६ घण्टाभित्रै लिउका औंलाहरू चल्न थालेपछि चिकित्सकहरू समेत अचम्मित भए। यो उनको सुधारको दोस्रो चमत्कार थियो।

अहिले विभिन्न चरणका पुनर्स्थापना तालिम र अत्याधुनिक मेकानिकल ‘एक्सोस्केलेटन’ को सहयोगमा लिउ आफैं उभिन सक्ने भएका छन्। उनको मांसपेशीको शक्तिमा पनि सोचेभन्दा तीव्र सुधार आएको छ, जसलाई चिकित्सकहरूले तेस्रो चमत्कारको रूपमा लिएका छन्।

लिउ बोकी अहिले मेरुदण्डको चोटका कारण पक्षाघात झेलिरहेका अन्य बिरामीहरूका लागि आशाको जीवित उदाहरण बनेका छन्। अन्य बिरामीहरूले पनि यही प्रविधिमार्फत उपचार गराउने तयारी गरिरहेका छन्। के यो अत्याधुनिक प्रविधिले अन्य बिरामीहरूमा पनि यस्तै सफलता दोहोर्‍याउन सक्ला?

सीजीटीएनको ‘हेल्थ टक’ ले लिउको यो उपचार र यसले विश्व चिकित्सा क्षेत्रमा पुर्‍याउने योगदानबारे एक विशेष रिपोर्ट तयार पारेको छ।

Exit mobile version