‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ १२ दिनसम्म चलेको महोत्सवमा ११ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
महोत्सवका प्रचार-प्रसार संयोजक युवराज भट्टराईका अनुसार ३ लाख ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन्। ९ करोडको कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखे पनि महोत्सवले सोचेभन्दा बढी सफलता पाएको आयोजकको दाबी छ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता मेलाले आर्थिक समृद्धिमा टेवा पुर्याउने बताए। उनले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी वस्तु तथा सेवाको बजारीकरणमा महोत्सवले योगदान दिएको उल्लेख गरे।
‘जेन-जी आन्दोलनका कारण व्यवसायीमा पुगेको क्षति र गिरेको मनोबलका बिच आर्थिक अवस्था कसरी सुधार्न सकिन्छ भन्नेमा हामी चिन्तनशील हुनुपर्छ’, आचार्यले भने। उनले साविक लेखनाथ क्षेत्रको विकासका लागि बेग्नास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजना स्थानीयको सहयोगमा अघि बढाइने जानकारी दिए।
पोखरा-मुग्लिन सडक निर्माण अन्तिम चरणमा पुगेकाले अब पोखरा र लेखनाथको दुरी घट्ने र महानगरले लेखनाथको विकासमा कुनै विभेद नगरेको उनले प्रष्ट पारे।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवले उत्पादनको बजारीकरणमा सहयोग पुर्याएको बताउँदै रुपा र पोखराको एकीकृत विकासका लागि योजना बनाउनुपर्ने सुझाव दिए। पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले सामाजिक संघ(संस्था र व्यवसायी मिलेर एकीकृत विकासको योजना बनाउन आग्रह गरे।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औं संस्करणसम्म आइपुग्दा यसले ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान बनाएको बताइन्।
उनले उत्पादक र उपभोक्तालाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको उल्लेख गरिन्। लेखनाथवासीको एकताका कारण महोत्सव सफल भएको उनको भनाइ थियो। यस्तै वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले अन्य वर्षको तुलनामा यसपालिको महोत्सव बढी सफल रहेको दाबी गरे।
