देशभर जाडोको प्रकोप बढेसँगै मानिसहरूले शरीर र कोठा न्यानो बनाउन विभिन्न उपायहरू अपनाउन थालेका छन्। तर, चिसोबाट बच्न प्रयोग गरिने आगो, हिटर र गिजरको असावधानीपूर्ण प्रयोगले पछिल्लो समय गम्भीर दुर्घटना र अकालमै ज्यान जाने घटनाहरू बढ्न थालेका छन्।
स्वास्थ्य मन्त्रालयको शिक्षा तथा सूचना केन्द्रले विशेष गरी बन्द कोठामा आगो वा हिटर बालेर सुत्दा अक्सिजनको कमी भई ‘कार्बन मोनोअक्साइड’ ग्यासका कारण मानिसको मृत्यु हुने गरेको बताएको छ।
यस्ता अप्रिय घटनाहरूबाट बच्न स्वास्थ्य विज्ञ तथा सुरक्षा निकायहरूले सर्वसाधारणका लागि विशेष सावधानीका उपायहरू सार्वजनिक गरेका छन्।
कोठाको भेन्टिलेसनमा विशेष ध्यान
विज्ञहरूका अनुसार आगो ताप्ने वा हिटर बाल्ने कोठामा हावा ओहोरदोहोर हुने ठाउँ ‘भेन्टिलेसन’ अनिवार्य हुनुपर्छ। झ्याल–ढोका पूरै थुनेर हिटर वा आगो बाल्दा कोठाभित्र अक्सिजन कम हुने र विषाक्त ग्यास भरिने हुँदा निसास्सिएर मृत्यु हुने जोखिम रहन्छ।
त्यसैले, सधैँ केही न केही भाग खुला राखेर मात्र न्यानो बनाउने प्रविधि प्रयोग गर्न सुझाव दिइएको छ।
आगो र हिटरको प्रयोगमा सावधानी
जाडोमा कोइला वा ब्रिकेट बालेर ताप्ने चलन छ। तर, कोइलाजन्य स्रोतबाट निस्कने धुवाँ स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने भएकाले सकेसम्म यसको प्रयोग नगर्न वा अत्यन्तै सावधानी अपनाउन भनिएको छ।
आगो ताप्दा वा हिटर बाल्दा त्यसको नजिकै कागज, कपडा, पर्दा वा छिटो जल्ने खालका सामग्रीहरू राख्नु हुँदैन। यसले गर्दा घरमा आगलागी हुने सम्भावना रहन्छ।
हिटरको प्रयोग गर्दा लामो समयसम्म निरन्तर नबाल्न र समय–समयमा बन्द गर्न पनि सल्लाह दिइएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, सुत्नुअघि अनिवार्य रूपमा हिटर वा आगो पूर्ण रूपमा निभाउनु पर्छ।
गिजर प्रयोगकर्ताका लागि चेतावनी
ग्यास गिजरको प्रयोग गर्दा हुने दुर्घटनाले बर्सेनि धेरैको ज्यान लिने गरेको छ। गिजर प्रयोग गर्दा मुख्य मेसिनलाई सधैँ बाथरूमबाहिर खुला ठाउँमा जडान गर्नुपर्छ। बाथरूमभित्र अक्सिजनको कमी हुन नदिन नुहाउँदा सम्भव भएसम्म झ्याल खुला राख्नुपर्छ।
धेरै समयसम्म गिजर खोलेर बाथरूमभित्र बस्नु खतरनाक हुन सक्छ। गिजरबाट निस्कने ग्यासले मानिसलाई थाहै नपाई बेहोस बनाउने र समयमै उद्धार नभए मृत्यु गराउने भएकाले यसको प्रयोगमा विशेष सजगता अपनाउन जरुरी छ।
विशेषतः चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो झोलिलो खानेकुरा खाने जस्ता प्राकृतिक उपायहरू उत्तम मानिन्छन्। तर, प्रविधिको प्रयोग गर्दा थोरै मात्र पनि सावधानी अपनाउन सके सम्भावित ठूला दुर्घटनाबाट बच्न र ज्यान जोगाउन सकिने केन्द्रको भनाई छ।
