गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न पर्यटकीय सहरहरूमा सिधा हवाई उडानका लागि पहल गरिदिन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ।
पोखरामा आयोजित ‘दोस्रो नेपाल–भारत पर्यटन भेटघाट’ (सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट) लाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भारतीय राजदूतावासमार्फत यस्तो आग्रह गर्नुभएको हो।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोचेअनुरूप अन्तर्राष्ट्रिय उडान हुन नसकेको स्वीकार गर्नुभयो। उहाँले विमानस्थल सञ्चालनका लागि सङ्घीय सरकार, प्रदेश सरकार, पोखरा महानगरपालिका र पर्यटन व्यवसायीबीच निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो।
नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक मात्र नभई इतिहास, संस्कृति र जनस्तरसम्म गहिरो गरी जोडिएको उल्लेख गर्दै मुख्यमन्त्रीले भन्नुभयो, ‘पर्यटनले यो ऐतिहासिक सम्बन्धलाई अनुभव र आपसी विश्वासमा बदल्ने काम गर्छ।’
मुख्यमन्त्री पाण्डेले नेपाल सरकारले हालै भारतीय ५ सय र २ सय दरका नोट नेपालमा चल्न दिने निर्णय गरेको स्मरण गराउँदै यसबाट भारतीय पर्यटक र नेपाली व्यवसायी दुवैलाई ठूलो सहजता मिलेको बताउनुभयो। विशेषगरी भारतको बिहार र उत्तर प्रदेशबाट ठूलो सङ्ख्यामा पर्यटक पोखरा आउने गरेको भन्दै उहाँले ती पर्यटकका समस्या समाधान गर्न प्रदेश सरकारले व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा भारतीय राजदूतावासका ‘डेपुटी चिफ अफ मिसन’ डा. राकेश पाण्डेले यस्ता पर्यटन प्रवद्र्धनका कार्यक्रमले दुई देशबीचको पर्यटकीय र जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराई र भारतको उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमार लगायतले दुई देशबीचको पर्यटन साझेदारी र आर्थिक समृद्धिमा जोड दिनुभएको थियो।
भारतीय दूतावास, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगर र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा दुवै देशको मौलिक संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो।
