सुदूरको दयनीय प्रदर्शन, लुम्बिनीलाई उपाधि जित्न ८६ रनको खाँचो

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले दयनीय प्रदर्शन गर्दै न्यून स्कोर बनाएको छ । उसले १९ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोद भण्डारी आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा गएको थियो । उनी २ बल सामना गरेर रनको खाता नखोली रुबेन ट्रम्पेलम्यानको बलिङमा दिनेश अधिकारीमार्फत् आउट भए ।

सुरुवातमै विकेट गएपछि दबाबमा गएको यो टोलीको ब्याटिङले लय समात्न सकेन ।

२ ओभरको तेस्रो बलमा पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका शेल्डन ज्याक्सन आउट भए । ३ बलमा १ रन जोडेर उनी रुबेनकै बलको शिकार भए ।

आशिफ शेख ६ बलमा समान गरेर ६ रन बनाउँदा शेर मल्लको बलको शिकार भए । आरिफले ३ ओभरको तेस्रो बलमा चौका हान्दै सुदूरपश्चिमलाई पहिलो बाउन्ड्री दिलाए ।

दोस्रो बाउन्ड्रीका लागि सुदूरपश्चिमले ३८ बलको संघर्ष गर्नुपर्‍यो । कप्तान दीपेन्द्रसिंह ऐरीले ९ ओभरको पाँचौ बलमा छक्का हान्दै टिमलाई दोस्रो बाउन्ड्री दिलाए ।

चौथो विकेटका रुपमा १० ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २० बलमा १३ रन जोडे । उनी आउट हुँदा सुदूरपश्चिम ४४ रनको अवस्थामा थियो ।

१० ओभरको प्रगतीका क्रममा लुम्बिनीका कप्तना रोहित पौडेलले ह्याट्रिक लिए । १० ओभरको चौथो बलमा दीपेन्द्र, पाँचौ बलमा दीपक बोहोर र अन्तिम बलमा पुनीत मेहरालाई आउट गर्दै रोहितले ह्याट्रिक हात पारेका हुन् । दीपक र पुनीतले रनको खाता खोल्न सकेनन् ।

रोहितको ह्याट्रिकले सुदूरपश्चिमको ब्याटिङ थप दयनीय बन्यो ।

Exit mobile version