हरि बुढाः जसले अफगानिस्तानमा दुबै खुट्टा गुमाएपनि सगरमाथाको टुप्पोमा पुगेर इतिहास रचे

– ज्याक रियर

सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखर चुमेको ७२ वर्षपछि, घुँडामाथिबाट दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वोच्च शिखरको सफल आरोहण गर्ने विश्वकै पहिलो व्यक्तिका रूपमा हरि बुढामगरले इतिहास रचेका छन्।

७,००० भन्दा बढी आरोहीहरूले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेको भए पनि हरिको यो सफलतालाई मानव साहसको एक अनुपम उदाहरणका रूपमा लिइएको छ।

हरिले सगरमाथा विश्वको सर्वोच्च शिखर भएकोले यो नेपालीको गौरव र पहिचानको ठूलो स्रोत रहेको बताएका छन्।

बाल्यकाल र सैन्य सेवा
रोल्पाको मिरुल गाउँको एक गोठमा जन्मिएका हरिको बाल्यकाल गरिबीमा बितेको थियो। कापीको अभावमा काठको फल्याकमा ढुङ्गाले लेखेर पढेको र खाली खुट्टा ४५ मिनेट हिँडेर विद्यालय जाने गरेको उनले स्मरण गरेका छन्।

बुवाको सपना पूरा गर्न सन् १९९९ मा १९ वर्षको उमेरमा उनी ब्रिटिस गोर्खा सेनामा भर्ती भएका थिए। १२,००० आवेदकहरूमध्ये छनोट भएका २३० जनामा परी उनी बेलायत पुगेका थिए।

कठिन सैन्य तालिम पूरा गरेपछि उनी रोयल गोर्खा राइफल्समा आबद्ध भई केन्या, ब्रुनाई, अष्ट्रेलिया, बोस्निया लगायतका देशहरूमा खटिएका थिए।

दुर्घटना र जीवनको मोड
सन् २०१० अप्रिल २ मा अफगानिस्तानको हेलमन्ड प्रान्तमा खटिएका बेला गस्तीका क्रममा ‘बिस्फोटक पदार्थ’ (IED) विष्फोट हुँदा हरिले आफ्ना दुवै खुट्टा गुमाएका थिए।

उक्त घटनाले उनको चम्किलो सैन्य जीवनमा पूर्णविराम लगाएको थियो। घटनापछि बेलायत फर्कदा आफूले परिवार र साथीभाइलाई निराश बनाएको महसुस गरेको उनले बताएका छन्।

बर्मिङ्घम अस्पतालमा उपचार र ह्वीलचेयरको जीवन सुरु गर्दा उनी गहिरो डिप्रेसन र मदिराको लतमा फसेका थिए। अपाङ्गतालाई पूर्वजन्मको पाप ठान्ने सामाजिक मान्यता र मानिसहरूको दयाभावले आफूलाई थप पीडा दिएको उनले उल्लेख गरेका छन्।

तर, ‘हेडली कोर्ट’ स्थित सैनिक पुन:स्थापना केन्द्रमा कृत्रिम खुट्टा (Prosthetic legs) को प्रयोग र स्काई डाइभिङ जस्ता साहसिक खेलमा सहभागी भएपछि उनमा बाँच्ने इच्छाशक्ति पुनः जागृत भएको जनाइएको छ।

सगरमाथा आरोहण र कानुनी लडाइँ
खेलकुदका माध्यमबाट जीवनमा फर्किएका हरिले सगरमाथा चढ्ने सपना देखेका थिए।

तर, सन् २०१८ मा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाउने नियम ल्याएपछि उनले सर्वोच्च अदालत र संयुक्त राष्ट्रसंघसम्म वकालत गर्नुपरेको थियो। अन्ततः सन् २०१८ को अन्त्यमा उनले मुद्दा जितेका थिए।

सन् २०२३ मा सगरमाथा आरोहणका लागि नेपाल आएका उनले ६४ दिन लामो अभियान पूरा गरेका थिए। आधार शिविरबाट ५ दिन लगाएर दिउँसो ३:१० बजे उनी र उनको टोली शिखरमा पुगेको थियो।

‘शिखर नजिक पुग्दा म भक्कानिएर रोएँ,’ हरिले भने, ‘यो सपना पूरा भएकोमा मलाई विश्वास नै लागिरहेको थिएन।’

भावी योजना र सम्मान
हाल उनी ‘द नट फरगटेन’ (The Not Forgotten) च्यारिटीमार्फत अपाङ्गता भएका पूर्व सैनिकहरूको हकहितका लागि काम गरिरहेका छन्।

उनले अपाङ्गता भएका व्यक्तिहरू पनि कमजोर हुँदैनन् भन्ने सन्देश विश्वभर फैलाउने प्रण गरेका छन्।

सन् २०२४ को डिसेम्बरमा उनलाई विन्डसर क्यासलमा बेलायती राजकुमारी एनीद्वारा ‘एमबीई’ (MBE) सम्मान प्रदान गरिएको छ।

विश्वका सात महादेशका अग्ला शिखरहरू (Seven Summits) आरोहण गर्ने लक्ष्य राखेका हरिले हालसम्म ६ वटा शिखरको आरोहण सम्पन्न गरिसकेका छन् भने अन्तिम लक्ष्यका रूपमा अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्ने तयारी गरिरहेको जनाइएको छ।

टेलिग्राफडटकोयूकेमा प्रकाशित समाचारको नेपाली अनुवाद ।

Exit mobile version